Friday, July 25, 2014

सम्झौता 'मोदी आउँदा मात्रै'

काठमाडौ, श्रावण ९ - भारतीय विदेशमन्त्री सुष्मा स्वराजको शुक्रबारबाट सुरु हुने भ्रमणका क्रममा द्विपक्षीय मामिलाका थुप्रै विषयमा विस्तृत छलफल भए पनि राजनीतिक स्तरमा कुनै सम्झौता नहुने जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउन १८ बाट गर्ने भ्रमणका अवसरमा मात्र परराष्ट्रमन्त्री तहमा जुटेका सहमतिहरूमा हस्ताक्षर गरिनेछ ।
स्वराजको भ्रमणले भारतीय प्रधानमन्त्रीको दुईदिने भ्रमणमा हुन सक्ने द्विपक्षीय सहयोग, लगानी सम्झौता र साझेदारीको खाका तय गर्ने परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिए । २३ वर्षदेखि हुन नसकेको परराष्ट्रमन्त्री नेतृत्वको संयुक्त आयोगको बैठक शनिबार काठमाडौंमा हुँदैछ ।
'बैठकमा सबै विषयमा छलफल हुन्छ र केही काम अघि बढाउन विभिन्न द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाइनेछ । नयाँ परियोजना के गर्ने भन्नेमा पनि छलफल हुनेछ,' पाण्डेले कान्तिपुरसँग भने ।
'विदेशमन्त्री स्वराजको भ्रमणमा सबै आधार तयार हुन्छ तर कुनै पनि राजनीतिकस्तरको सम्झौता भने प्रधानमन्त्री मोदीको भ्रमणमा नै हुनेछ,' प्रधानमन्त्री सुशील कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले भने, 'जस्तोसुकै निर्णय भए पनि त्यसको जस-अपजस प्रधानमन्त्रीलाई नै जाने हुनाले प्रधानमन्त्रीसँगको छलफलबाट मात्र कुनै पनि विषयको अन्तिम टुंगो लगाउनुपर्छ ।'
कोइरालाले मोदीको भ्रमणलाई विशेष र महत्त्वपूर्ण बनाउनसमेत परराष्ट्रसहित सम्बन्धित मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन् । 'भारतीय प्रधानमन्त्री आगामी १८ गते दुई दिनका लागि नेपाल भ्रमणमा आउने हुनुभएको छ । प्रधानमन्त्री सुशील कोइरालाले उक्त भारतीय प्रस्तावलाई स्वागतयोग्य भन्दै स्वीकार गरेकाले तिथि तय भएको हो,' परराष्ट्रमन्त्री पाण्डेले बताए । मोदीलाई संविधानसभा बैठकमा विशेष सम्बोधन गर्नसमेत आग्रह गरिएको छ ।
परराष्ट्रमन्त्री पाण्डेले बिहीबार प्रधानमन्त्रीलाई बालुवाटारमा भेटी स्वराज भ्रमणको तयारी र मोदीको भ्रमणको प्रस्तावबारे जानकारी दिएका थिए । 'संयुक्त आयोगको बैठक भनेको नै मोदीको भ्रमणको तयारी हो,' उनले भने । २३ वर्षपछि हुन लागेको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकले भारतका तर्फबाट १७ वर्षदेखि हुन नसकेको प्रधानमन्त्रीस्तरीय भ्रमणको बाटो खोल्नुका साथै विभिन्न तहका द्विपक्षीय संयन्त्रले तयार गरेका सबै एजेन्डामाथि छलफल भई 'नयाँ ढाँचा' को सम्बन्धको आधार तय गर्ने मन्त्री पाण्डेले विश्वास व्यक्त गरे ।
बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विगतका सबै विषयमा छलफल हुनेछ । भारतले पठाएको विद्युत् व्यापार सम्झौता (पीटीए), भारतीय कम्पनी प्रवर्द्धक रहेको माथिल्लो कणर्ालीदेखि अरुण तेस्रो जलविद्युत् आयोजना अघि बढाउनलगायत विषयमा छलफल हुने उनले जनाए ।
विषयगत प्रस्तावमा पाँच फरक विषयमा छलफल हुने पनि उनले जानकारी दिए । राजनीति, सुरक्षा, सिमाना तथा सीमा व्यवस्थापन पहिलो क्लस्टर रहेको उल्लेख गर्दै उनले भने, 'दोस्रोमा आर्थिक सहयोग तथा पूर्वाधार, तेस्रोमा व्यापार तथा पारवहन, चौथो ऊर्जा तथा जलस्रोत र पाँचौं संस्कृति, शिक्षा र आमसञ्चार छन् ।'
स्रोतका अनुसार नेपालले मध्यपहाडी राजमार्गलाई चियोभन्ज्याङ हुँदै भारतको सिक्किमसम्म जोड्ने, हुलाकी राजमार्गको स्तरोन्नति र सम्पन्न गराउने, टनकपुर-महेन्द्रनगर लिंक रोड, काठमाडौं- तराई फास्ट ट्रयाक निर्माण, रेल लिंक, चुरे संरक्षण आदि प्रस्ताव राख्नेछ ।
यसैगरी एक्जिम बैंकको लाइन अफ क्रेडिटबाट आवश्यक ऋणको पहल गर्ने, पञ्चेश्वर आयोजनाको प्राविधिक विषय टुंग्याएर अघि बढाउने, सीमा विवाद सुल्झाउनेलगायतका विषयमा छलफल गरिनेछ । प्रहरी एकेडेमी निर्माण, विद्युत् व्यापार सम्झौता, सिँचाइ, डुबान, आतंकवाद नियन्त्रणमा सहकार्यलगायत मुद्दाहरूमा पनि नेपालले कुरा राख्नेछ ।
स्वराज भारतीय विदेश सचिव सुजाथा सिंह, विदेश मन्त्रालयका आर्थिक सम्बन्ध हेर्ने सचिव सुजाता मेहता, सहसचिवहरू अभय ठाकुर, नीरज बर्मालगायत २६ सदस्यीय भारतीय टोलीको नेतृत्व गर्दै शुक्रबार साँझ ६ बजे विशेष विमानमा काठमाडौं आइपुग्ने छिन् । बिहीबार नै सञ्जीव रञ्जनको नेतृत्वको एक भारतीय टोली काठमाडौं आइपुगेको छ, जसले शुक्रबार संयुक्त आयोगको तयारी बैठक गर्ने जनाइएको छ ।
स्वराजले शनिबार संयुक्त आयोगको औपचारिक बैठकमा भाग लिएलगत्तै राजनीतिक भेटवार्तासमेत गर्नेछिन् । नेपाल मामिलाकी जानकार स्वराज यसअघि प्रमुख प्रतिपक्षी नेतासमेत थिइन् । उनी बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बस्नेछिन् । पूर्वप्रधानमन्त्री तथा दलका शीर्ष नेताहरूलाई उनले निवासमै पुगेर भेट्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले मिलाएको छ । गत वर्ष जुलाईमा एकदिने भ्रमणमा आएका तत्कालीन भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई पूर्वप्रधानमन्त्रीले होटलमै लाइन लागेर भेटेपछि चौतर्फी आलोचना भएको थियो । स्वराजले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा अध्यक्ष सुवास नेम्बाङलगायतलाई भेट्ने कार्यक्रम तय भएको छ । केही नेताहरूलाई भने होटलमै भेट्ने अधिकारीहरूले बताए । उनी आइतबार बिहान पशुपतिको दर्शन गरेर त्यसै दिन स्वदेश र्फकने छिन् ।
- See more at: http://www.urjanews.com/details/477/%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%9D%E0%A5%8C%E0%A4%A4%E0%A4%BE-%27%E0%A4%AE%E0%A5%8B%E0%A4%A6%E0%A5%80-%E0%A4%86%E0%A4%89%E0%A4%81%E0%A4%A6%E0%A4%BE-%E0%A4%AE%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%88%27#sthash.dPmFSvAP.dpuf

No comments:

Post a Comment