Sunday, March 15, 2015

निजगढ विमानस्थल निर्माण प्रक्रिया सुरु

काठमाडौं : बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले प्रक्रिया सुरु गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले शुक्रबार विमानस्थल निर्माण क्षेत्रमा तारबार लगाउने निर्णय भएसँगै निर्माण प्रक्रियाको ढोका खुलेको जानकारी दिए।

करिब १८ वर्षदेखि निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिए पनि कसरी बनाउने र कसले बनाउने भन्ने निर्णय नहुँदा अहिलेसम्म काम अगाडि बढ्न सकेको थिएन।

विमानस्थल निर्माणका विषयमा अहिलेसम्म जति हल्ला भयो त्यसअनुसारको काम भने हुन सकेको छैन।

सरकारले पछिल्लो दुई वर्षदेखि राष्ट्रिय गौरवका आयोजनामा राखेका यो विमानस्थलको पाँच वर्षअघि कोरियन कम्पनी ल्यान्डमार्क वल्र्ड वाइड (एलएमडब्लू)ले विस्तृत संभाव्यता अध्ययन गरेको थियो। संम्भाव्यता अध्ययन पछि पनि तुरुन्त काम अगाडि बढाउन विभिन्न प्रविधिक समस्या रहेकोले विमानस्थल निर्माण अगाडि बढाउन नसकिएको श्रेष्ठले बताए।

उनका अनुसार चालू आर्थिक वर्षमा नै सरकारले ५० करोड रुपैयाँ विमानस्थलका लागि विनियोजन गरेकोले यो रकम खर्चने बाटो खुलेको छ। विमानस्थल निर्माण गर्न आयोजना क्षेत्रमा चार किल्ला तोक्ने, करिब १४ सय परिवारलाई स्थान्तरण गर्ने, ८४ विगाहा निजी जग्गालाई मुआब्जा दिएर सरकारको मातहतमा ल्याउनेसहितका काम अब सुरु हुने उनको भनाइ छ।

यो विमानस्थल निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन तथा सामाजिक प्रभाव मूल्यांकनसहितका योजना पूरा गर्नुपर्ने हुन्छ। सरकारले गरेको पछिल्लो निर्णयपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत प्राविधिक जनशिक्त खटाएर चार किल्ला तोक्ने र आवश्यक काम सुरु गर्ने पर्यटन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले बताए।

उनका अनुसार चालू आर्थिक वर्षमा विनियोजित रकमबाट सरकारले विमानस्थल निर्माणको क्षेत्र निर्धारण, मुआब्जा वितरण, १४ सय घरधुरीको पुनर्वाससहितका काम गर्ने योजना बनाएको छ। योजनाका काम सक्न ५० करोडले नपुगे अर्को ५० करोड रुपैयाँ थप गर्ने अर्थ मन्त्रालयले औपचारिक सहमति दिइसकेको छ।

यो विमानस्थल निर्माण गर्ने विषयमा पर्यटन मन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, लगानी बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरणसहितको एक उच्चस्तरीय समिति बनाउने गृहकार्यसमेत भइरहेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।

विमानस्थल निर्माण गर्ने विषयमा निर्माण सञ्चालन र स्वामित्व हस्तान्तरण (बूट) मोडलबाट, लगानी बोर्ड वा नेपाल नागरिक उड्डयन प्राधिकरण कसले बनाउने भन्ने विषयमा पनि टुंगो लाग्न बाँकी छ। यो विषयमा निर्णय भएपछि काम गर्न थप सहज हुनेछ।

यो विमानस्थल निर्माणका विषयमा विशेष चासो देखाउँदै शनिबार बारामा 'दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, द्रुतमार्ग, विशेष आर्थिक क्षेत्र मध्यतराई सहकारी सरोकार समिति' गठन भएको छ। यो समितिले विमानस्थल निर्माण भएर सञ्चालनमा नआएसम्म निरन्तर खबरदारी गरिरहने समिति संयोजक कृष्ण पौडेलले बताए। बाराकै स्थानीय बासिन्दा पौडेका अनुसार राजनीतिक दल, समाजिक व्यक्तित्व र स्थानीयसहतिको सहभागितामा विमानस्थल निर्माणको खबरदारी गरिने भएको छ।

बाराको गढीमाइ नगरपालिको वडा नं. १६ मा रहने यो विमानस्थल निर्माण गर्न राज्यलाई आवश्यक सहयोग गर्ने र दबाबमूलक कार्यक्रमसमेत गर्ने योजना तय भएको पौडेलले बताए। विमानस्थल निर्माण गर्न आवश्यक ८० वर्गकिलोमिटर क्षेत्रफलमध्ये अधिकांश स्थानमा सरकारी जंगल छ।
जंगलको बीचमा रहेको बस्ती हटाउन र सीमित निजी जग्गालाई मुआब्जा दिन कुनै पनि असहज अवस्था नरहेको पनि पौडेलको भनाइ छ। गढीमाइ नगरपालिका हुनुअघि डुमरवाना गाविसमा रहेको यो प्रस्तावित विमानस्थलको क्षेत्रले बाराको ककडी, पर्सौना, सपही र कुलवी गाविसका केही भागलाई छोएको छ।

यो विमानस्थल निर्माण गर्ने विषयमा अहिले जम्मा १० प्रतिशत मात्रै काम सुरु भएकोले ९० प्रतिशत बाँकी नै रहेको पर्यटन मन्त्रालयको भनाइ छ। विमानस्थल निर्माणका लागि मोडालिटी विवाद, वन एेन संसोधन, पहिलो चरणमा अनुमानित ६५ अर्ब लागतको बन्दोवस्त गर्नुपर्ने पनि मन्त्रालयको भनाइ छ।

यो विमानस्थल निर्माण पश्चात काठमाडौं विमानस्थलको विकल्प तयार हुनेछ। नेपालबाट वाइडबडि नामक ठूला जहाजको उडान तथा अवतरण हुने, नेपालले आकाश बेचेरै लाभ लिनसक्ने, सीधै युरोप तथा अमेरिकामा उडान हुने, विश्वसँगको हवाइ पहुँच बढ्नेसहितको लाभ लिन सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ।

विमानस्थल निर्माण गर्न पाँच वर्ष अगाडि नै एलएमडब्लूले तीन चरणमा विमानस्थल निर्माण गर्न सकिने सम्भाव्यता अध्ययन प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। यो विमास्थलको पहिलो चरणको काम पूरा गर्न नै ६५ करोड डलर लाग्ने अनुमान छ। दोस्रो चरणमा २५ करोड र अन्तिम चरणमा अर्को १ अर्ब डलर खर्च हुने प्रतिवेदनमा उल्लेख छ। यो विमानस्थलको क्षेत्रफल ३ हजार हेक्टर रहने छ।
- See more at: http://annapurnapost.com/News.aspx/story/8795#sthash.W8ExDc2w.dpuf

No comments:

Post a Comment