Friday, March 20, 2015

नागढुङ्गा–थानकोट सडकखण्डमा जाम हटाउन सुरुङ मार्ग


काठमाडौँ, ५ चैत । उपत्यका भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधन लामो समयसम्म नागढुङ्गा–थानकोट सडकखण्डमा जाममा पर्ने समस्या समाधान गर्न सुरुङ मार्गको निर्माण गरिने भएको छ । साँघुरो सडकका कारण घन्टौँ जाममा बस्नुपर्ने समस्या समाधान गर्न सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने काम सम्पन्न भएको सडक विभागले जनाएको छ । नागढुङ्गाको सिस्नेखोलादेखि बस्नेतछापसम्म साढे दुई किमी सुरुङ मार्ग निर्माण गर्नेसम्बन्धी सम्भाव्यता अध्ययन सम्पन्न गरिएको हो ।
जापानी सहयोग नियोग जाइकाको सहुलियत अनुदानमा सुरुङ निर्माण गर्न लागिएको सडक विभागका उपमहानिर्देशक एवम् नागढुङ्गा सुरुङ आयोजना प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । “जाइकाको ।०१ प्रतिशत ब्याजदरको सहुलियत ऋण सहयोगमा सुरुङ निर्माण गरिनेछ, लागत रु १५ अरब अनुमान गरिएको र ४० वर्षसम्मका लागि जाइकाले ऋण सहुलियतरुपमा सहयोग गर्दैछ”, आयोजना प्रमुख श्रेष्ठले भने ।
सुरुङ निर्माणको काम डेढ वर्षभित्रमा सुरु गर्ने तयारीमा विभाग लागेको पनि उनले जानकारी दिए । सुरुङ निर्माणपछि राजधानी भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधन जाममा पर्ने समस्या समाधान हुने विभागको विश्वास रहेको छ ।
- See more at: http://urjanews.com

No comments:

Post a Comment