Sunday, August 2, 2015

‘प्राधिकरण कार्यकारीको कार्यसम्पादन कमजोर’

काठमाडौं, १७ साउन ऊर्जा मन्त्रालयद्वारा गठित मूल्यांकन समितिले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको कार्यसम्पादन प्रगति ५० प्रतिशतभन्दा कम रहेको ठहर गरेको छ । समितिले कार्यकारी निर्देशक काफ्लेको ३ र ६ महिनाको कार्यसम्पादनको मूल्यांकन गरी ५० प्रतिशतभन्दा कम प्रगति रहेको ठहर गरेको हो । कार्यकारी निर्देशकको कार्यसम्पादन प्राधिकरणको वार्षिक प्रगतिसँग जोडेर मूल्यांकन गरिएको समितिका एक सदस्यले बताए । वार्षिक प्रगति ६० देखि ७० प्रतिशतको बीचमा छ । मन्त्रालय र काफ्लेबीच भएको करारनामा ५० प्रतिशतभन्दा कम प्रगति भएमा हटाउन सकिने, ५०–७० प्रतिशतसम्म प्रगति भएमा सच्याउन अवसर दिइने र ७० प्रतिशतभन्दा बढी भए प्रोत्साहन भत्ता पाउने व्यवस्था छ । मन्त्रालयले काफ्लेसँग भएको कार्यसम्पादन करारको मूल्यांकन गर्न सचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा ऊर्जाका सहसचिव समीररत्न शाक्य र विद्युत् विकास विभागका महानिर्देशक दिनेशकुमार घिमिरे सदस्य थिए । मन्त्रालयले प्राधिकरण सुधार योजनासहित काफ्लेसँग १३ कात्तिकमा कार्यसम्पादन करार गरेको थियो । ३ महिनामा मूल्यांकन गरी सुधारका लागि पृष्ठपोषण दिनुपर्ने व्यवस्था भए पनि ऊर्जा मन्त्रालयले ३ र ६ महिनाको एकैपल्ट मूल्यांकन गरेको हो । मन्त्रालयले मूल्यांकन प्रतिवेदन १४ दिनको समय दिई प्रतिक्रियाका लागि कार्यकारी निर्देशक काफ्लेलाई बिहीबार पठाएको छ । ‘मूल्यांकन प्रतिवेदनको अध्ययन गरिरहेको छु, सम्झौतामा व्यवस्था भएअनुसार तोकिएकै समयसीमाभित्र प्रतिक्रिया बुझाउँछु,’ उनले भने । मूल्यांकन समितिको प्रतिवेदनमा चित्त बुझाएमा काफ्लेलाई हटाउन सरकारलाई बाटो खुल्नेछ । काफ्लेले चित्त नबुझाएमा सरकारले गठन गरेको स्वतन्त्र मूल्यांकन समितिले पुन: कार्यसम्पादन मूल्यांकन गर्नेछ । ऊर्जामन्त्री एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष राधाकुमारी ज्ञवाली र कार्यकारी निर्देशकबीचको सम्बन्ध पछिल्लो समयमा बिग्रिएको प्राधिकरणका एक उपकार्यकारी निर्देशकले बताए । काफ्लेले प्राधिकरणको चुनौती समाधान, विद्युत् उत्पादन, प्रसारण, वितरण, चुहावट नियन्त्रण तथा आर्थिक एवं वित्तीय व्यवस्थापन रणनीतिगत सुधारलगायत विषयमा ऊर्जासँग कार्यसम्पादन करार गरेका थिए ।
स्रोत: नयाँ पत्रिका

No comments:

Post a Comment