Sunday, August 2, 2015

पर्वतका सबैजसो जलविद्युत् बन्द

मर्मतमा सम्बन्धित निकायले चासो दिएनन्
 43  1 

पर्वत जिल्लाका ग्रामीण क्षेत्रमा दशकअघि निर्माण भएका सबैजसो लघु जलविद्युत् आयोजनाहरू बन्द भएका छन्। स्थानीय उपभोक्ता समिति र साझेदार निकायको लापरबवाहीले आयोजना बन्द भएका हुन्।
स्थानीयकै श्रमदानमा निर्माण भएका १३ वटा लघु जलविद्युत् परियोजनामध्ये अहिले मुस्किलले एउटा आयोजना मात्रै सञ्चालनमा रहेको भए पनि नियमित छैन। बाँकी कुनै पनि आयोजना सञ्चालनमा छैनन्। जिल्ला विकास समितिको लघु ऊर्जा कार्यक्रम अन्तर्गत निर्माण भएका १२ वटा आयोजना बन्द हुँदा अहिलेसम्मको करिव तीन करोडभन्दा बढी रकम खेर गएको हो। आयोजनाहरू निर्माणका लागि स्थानीयहरूले गरेको करोडौं रुपैयाँ बराबरको श्रमदान समेत खेर गएको छ।
दुर्गमका बस्तीमा ‘उज्यालो कार्यक्रम’ सञ्चालन गर्न विभिन्न दातृ निकायहरूको सहयोगमा जिविसको ऊर्जा शाखाले १६ वर्षअघिदेखि गाउँगाउँमा लघु जलविद्युत् आयोजनाहरू निर्माण गरेको थियो। ०५६ देखि ०६३ सम्म विभिन्न गाविसमा गरी १३ आयोजनाहरू निर्माण भएका थिए। तीमध्ये अहिले भोक्सिङको छहरेखोला मुस्किलले चलेको छ। बाँकी सबै आयोजनाहरू बन्द भएसँगै तत्कालीन समयको एक सय ६२ किलोवाट विद्युत् उत्पादन रोकिएको छ। विद्युत् आयोजनाहरू बन्द भएसँगै दुर्गमका दुई गाविसका सर्वसाधारणहरू अन्धकारमै रात बिताउन बाध्य छन्।
उज्यालो कार्यक्रमअन्तर्गत २०५६ सालमा भोक्सिङमा ६ र ९ किलोवाट क्षमताका छहरे र छर्छरेखोला विद्युत् आयोजना निर्माण गरी ग्रामीण क्षेत्रमा विद्युतीकरण सुरु गरिएको थियो। त्यसपछि ०५७ सालमा भोक्सिङको छहरेखोला ९२७ किलोवाट०, ०५८ मा क्याङको घट्टेखोला ९१६० विद्युत् आयोजना निर्माण भएका थिए। त्यसपछि पाङ्राङमा बाच्छाखोला ‘ए’ ९१९० र ‘बी’९११०, सरौंखोलामा अगुवाखोला ९१२०, बाच्छामा आम्दीखोला ९२१०, पाङ्राङमा गढिसिद्धीखोला ९७।५०, भोर्लेमा धुवाँकोटखोला ९१६०, हुवासमा गढीखोला ९१२० आयोजनाहरू निर्माण भएका थिए। त्यस्तै पेल्ट्रिक सेटबाट सञ्चालित ३ किलोवाटका भोक्सिङका घट्टेखोला र छहरेखोला विद्युत् आयोजनाहरू अहिले पूरै ठप्प छन्।
आयोजना निर्माण गर्न विभिन्न साझेदार निकायहरूले सक्रियता देखाएको भए पनि आयोजना बिग्रिएको लामो समयसम्म मर्मतमा कसैले चासो देखाएका छैनन्। जिल्लाका दुईबाहेक सबै गाविसमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेपछि स्थानीय सबै परियोजना बन्द भएको जिविसको ऊर्जा शाखाले जनाएको छ। ‘सुरुका दिनमा स्थानीयहरूले खुबै चासो देखाउनुभयो,’ ऊर्जा शाखा प्रमुख मन्जु शिलाकारले भनिन् ‘अहिले केन्द्रीय प्रसारणको लाइन पुगेपछि कसैलाई चासो छैन।’ आयोजना निर्माण भएको एक वर्षसम्म ऊर्जाले नै मर्मत गर्नेगरी दस प्रतिशत रकम मर्मतमा खर्चिएको उनले बताइन्।
जिल्लाका एक नगरपालिका र ४७ गाउँ विकास समितिमध्ये अहिले पाखापानी र भोक्सिङबाहेक सबै गाविसमा केन्द्रीय प्रसारणको विद्युत् पुगेको छ। आयोजना छिटोछिटो बिग्रिने, मर्मतका लागि प्राविधिक समस्या, उपकरण अभाव, उपभोक्ताले समयमा महसुल नबुझाउने लगायतका कारणले आयोजनाहरू धमाधम बन्द भएको स्थानीय सञ्चालक समितिहरू बताउँछन्। ‘सुरुका दिनहरूमा निकै कष्टका साथ पनि सञ्चालनमा ल्यायौं,’ घट्टेखोला आयोजनाको सञ्चालक समितिका अध्यक्ष नर्सिङबहादुर पुनले भने, ‘चार वर्षअघि केन्द्रीय विद्युत् आएपछि उपभोक्ताले चासो देखाउन छाडे, आयोजना पनि त्यत्तिकै भयो।’ बन्द भएका केही आयोजनाका विद्युतीय उपकरण समितिहरूले कवाडीमा बिक्री गरेका छन्। क्याङको आयोजनामा प्रयोग भएका पोलहरू केन्द्रीय आयोजनाको विद्युत वितरण गरिएको छ।
जिल्लाका सबै आयोजनाबाट एक हजार चार सय ६३ घरधुरी लाभान्वित भएका थिए। कतिपय आयोजनाहरू स्थानीयहरूले चासो देखाए पनि स्रोत र दक्ष प्राविधिकहरूको अभावका कारण बन्द भएका छन्। ‘एलसी पोर्ट र म्यागनेट बिग्रेर स्थानीय प्राविधिकले मर्मत गर्न नसकेपछि ऊर्जालाई पटकपटक सहयोग गर्न भन्यौं, उसले चासो देखाएन,’ छहरेखोला आयोजनाका सञ्चालक नुनप्रसाद गुरुङले भने, ‘उताबाट केही सहयोग नभएपछि डेढ वर्षदेखि चलेकै छैन।’ भोक्सिङकै छर्छरेखोला आयोजना निकै मुस्किलले चलेको भए पनि आयोजनाका महत्त्वपूर्ण उपकरण बिग्रिएको उनले बताए। बिग्रिएका उपकरण मर्मतका लागि उर्जामा डेढ लाख माग गरिएको भए पनि सहयोग नपाएको उनले बताए। स्थानीयहरूले एउटा बल्ब बालेको २० रुयैयाँ तिर्दै आएका थिए।
केन्द्रीय विद्युत्समेत नपुगेको भोक्सिङका सर्वसाधारणहरू अहिले विद्युतको विकल्पमा सोलारको प्रयोग गर्दै आइरहेका छन्। थोरै शुल्क बुझाएर विद्युत् उपभोग गर्दै आइरहेका सर्वसाधारणहरूले अहिले महँगो शुल्क र अनावश्यक लोडसेडिङको मार खेप्नुपरेको छ। ‘पहिला रातभरि बत्ती बालेर सय रुपैयाँ तिरे हुन्थ्यो,’ भोर्लेकी नारायण विकले भने, ‘अहिले चाहिएको बेलामा बिजुली नबाली तीन सय भन्दा धेरै तिर्नुपर्छ।’

No comments:

Post a Comment