Saturday, February 28, 2015

म्याग्दीमा २५ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुँदै


पश्चिम म्याग्दीमा २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठलगायत स्थानीयको सक्रियतामा सो आयोजना निर्माण हुने भएको हो । म्याग्दी खोलामा निर्माण हुने सो आयोजनाको निर्माणका लागि विभिन्न चरणमा स्थलगत अनुगमन हुनुका अतिरिक्त आवश्यक प्रक्रियालाई तीव्रता दिइएको आयोजना निर्माण कम्पनी धवलागिरि कालिका हाइड्रो लिमिटेडका अध्यक्षसमेत रहेका श्रेष्ठले बताए । उनले भने, ‘निर्माणाधीन आयोजना म्याग्दीका लागि अत्यन्त लाभदायी हुनेछ । सबैको सहभागितामा निर्माण कार्यलाई तीव्रता दिने तयारीमा छौं ।’ श्रेष्ठ म्याग्दीको उत्तरी क्षेत्रमा रहेको नारच्याङ गाविसमा निर्माणाधीन अवस्थामा रहेको ४ मेगावाटको घलेम्दी हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशकसमेत हुन् । प्राविधिक प्रतिवेदनअनुसार निर्माणाधीन आयोजनाले वार्षिक ९० करोड रुपैयाँसम्म आम्दानी दिनेछ । आयोजनाका लागि दरबाङदेखि २ किलोमिटरमाथि ताकम धारापानी जाने फेदीमा बाँध बाँधेर ५ किमी सुरुङ हँुदै दरबाङ र बाबियाचौरको सिमानामा अवस्थित सहस्रधारा रातोढुङ्गामा १ सय मिटर अग्लो हेडका साथ पावरहाउस बनाइनेछ । 

आयोजनाले केही दिनभित्र शेयर जारी गर्ने तयारी गरिरहेको छ । जिल्लामा राहुघाट, मिस्त्री, अपर कालीगण्डकी र घलेम्दी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।
 
- See more at: http://www.urjanews.com

जताततै जलविद्युत्


जिल्लाको उत्तरी गाविस सिदिनमा सात ओटा लघु जलविद्युत् सञ्चालनमा छन् । विभिन्न संघ संस्थाको अनुदान सहयोग र स्थानीयको लगानीबाट सञ्चालन गरिएका लघु जलविद्युत्को विकासले आफ्नो गाविस अँध्यारोमुक्त भएको सिद्ध देवी मावि सिदिनका प्रधानाअध्यपक सुरेन्द्र केरुङ बताउँछन् । “टुकिको उज्यालोमा जीवन जिउने मानिसहरुको घरमा विजुली बलेको छ,” केरुङ भन्छन् “लघु जलविद्युत्को विकासले गाविसका सबै वडाहरु उज्याला छन् ।”
जिल्लाका ३८ गाविस मध्ये १२ गाविका वस्तिमा केन्द्रिय विद्युत् लाईन विस्तार गरिएको छ । बाँकी सबै गाविसमा लघु जलविद्युत्को विकासले गाँउ झिलिमिली बनेका हुन् । स्थानीयकै सक्रियताले ग्रामिण क्षेत्रमा जताततै जलविद्युत्को विकास भएको हो । “नजिकैको गाविसमा झिलिमुली विजुली बलेपछि अर्को गाविसका स्थानीयले पनि आफ्नो गाविसमा विद्युतिकरणको पहल सुरु गर्छन्,” प्राङबुङका स्थानीय भरत खपाङ्गीले भने “यहाँ पनि तीन ओटा लघु जलविद्युत्को काम भईरहेको छ, यसले पूरै गाविस उज्याले हुन्छ ।”
जिल्लामा सञ्चालन गरिएका लघु जलविद्युत्हरु विश्व बैंक, जिविसको वातावरण तथा उर्जा शाखाको सहयोग र स्थानीय उपभोक्ताहरुकै लगानीबाट सञ्चालन गरिएको हो । जिल्लामा कुनै पनि निकायसँग लघु जलविद्युत्को आधिकारीक तथ्यांक नभएपनि ३० भन्दा बढि आयोजना सञ्चालन गरिएको अनुमान गरिन्छ । जसमध्ये दर्जन बढि आयोजनाहरु स्थानीयकै लागनीबाट मात्र सञ्चालनमा ल्याई ग्रामिण क्षेत्रका टोलटालमा विजुली पुर्याइएको हो ।
फिदिम नगरपालीका बाहेक अन्य ३८ गाविसमा प्रति गाविस अधिकतमा तीन हजार घरधुरी मानिसहरुको बसोबास छ । ग्रामिण क्षेत्रका सबै गाविसमा लघु जलविद्युत्को विकास गरिएको छ । एउटै गाविसमा एकै खोलाबाट अधिकतम् सात ओटासम्म लघु जलविद्युत् आयोजना सञ्चालन गरिएको छ । लिम्बा ८ लेकगाँउको एकै वडामा छ वटा लघु जलविद्युत् सञ्चालनमा ल्याईएको स्थानीय खोलाखर्क टोलका बिराज राइको भनाई छ । पाँच सय ९४ जनसंख्या रहेको यो गाउँमा सँधैभरि बिजुली बल्छ ।
जिल्ला विकास समिति र विश्व बैंकको आर्थिक सहयोगमा १५ ओटा जलबिद्युत् आयोजना सञ्चालनमा छन् । विश्व बैंक उर्जा शाखा र उपभोक्ताको संयुक्त लागानीबाट सञ्चालन गरिएका १५ आयोजना ९ करोड ४९ लाख ५१ हजार रुपैयाँको लागतमा सञ्चालन गरिएको हो । उक्त आयोजनाबाट उत्पादित तीन सय ३५ किलोवाट विद्युतबाट ग्रामिण क्षेत्रका करिब चार हजार घरधुरीमा उज्यालो छाएको छ । बाँकी घरधुरीमा स्थानीयकै मात्र लगानीबाट सञ्चालन गरिएका आयोजनाबाट उज्यालो छाएको हो । सो स्थानहरुमा साना तथा मझौला उद्योगहरु खोलिएका छन् । उर्जा शाखाका अनुसार लघु जलविद्युत सञ्चालन गर्न स्थानीयकै सहभागितामा कार्य समूह विद्युत् उपाभोत्ता समिति गठन गरिएको छ । उक्त समिति मार्फत आयोजना सञ्चालन गरिएकाले प्राविधिक समस्या पनि कम हुने गरेको बताइन्छ ।
आठ वर्ष अघिदेखि जिल्लाका ग्रामिण क्षेत्रहरुमा लघु जलविद्युत्बाट विद्युत उत्पादन गर्न थालिएको हो । चिलिङदिन–१ मा निर्मित हामसाम्भे निवुखोला दोस्रो जलविद्युत आयोजनाबाट पहिलोपटक २७ लाखको लागतमा १२ किलोवाट विद्युत् उत्पादन गरिएको थियो । लघु जलविद्युत् आयोजनाका तालिम प्रशिक्षक राजेन्द्रप्रसाद काफ्लेका अनुसार निबुखोलाबाट मात्रै छ वटा लघु जलविद्युत सञ्चालनमा छन् । यस्तै जिल्लाका अधिकांश खोलाहरुबाट लघु जलविद्युत सञ्चालन गरिएको छ । ओयाम, थर्पू, नागी, फलैँचा, एकतीन, मेमेङ, सिदिन, प्राङबुङ लगायतका गाविसहरुमा उल्लेख्य मात्रामा लघु जलविद्युत् आयोजनाको विकास गरिएको हो ।
- See more at: http://www.urjanews.com/details/2095/%E0%A4%9C%E0%A4%A4%E0%A4%BE%E0%A4%A4%E0%A4%A4%E0%A5%88-%E0%A4%9C%E0%A4%B2%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D#sthash.1msGq5GT.dpuf