Wednesday, June 26, 2013

सौर्य ऊर्जामा सहयोग गर्न महासंघद्वारा अष्ट्रेलियासँग आग्रह



Solar_fncciनेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले सौर्य उर्जा उत्पादनमा अष्ट्रेलियको अनुभव नेपालका लागि उपयोगी हुने हुँदा अनुभव आदान-प्रदान गर्न अष्ट्रेलियन सरकारलाई आग्रह गर्नुभएको छ । मंगलबार नेपालका लागि नव-नियूक्त अष्ट्रेलियन राजदुत ग्लिन ह्वाइटसँगको भेटवार्तामा उहाँले सो अग्रह गर्नुभएको हो ।
मुलुकमा जलविद्युत विकासका लागि धेरै प्रयास गर्दै आएको बताउँदै अध्यक्ष वैद्यले महासंघको वाषिर्क साधरणसभामा प्रमुख राजनीतिक दलहरुबाट उर्जा विकासमा प्रतिबद्धता लिएको जानकारी दिनुभयो । नेपालको आर्थिक विकासका लागि लगानीका सम्भाव्य क्षेत्रहरु पूर्वाधार, सेवा क्षेत्र (शिक्षा, स्वास्थ्य, पर्यटन), व्यवसायीक कृषि, जलविद्युत र खानीजन्य लगायतका क्षेत्रमा अष्ट्रेलियाको लगानी आवश्यक रहेको उहाँले बताउनुभयो । यी पाँच क्षेत्रमा अष्ट्रेलियन लगानी आकर्षणका लागि कुटनीतिक सहयोगको अपेक्षा समेत उहाँले गर्नुभयो ।
भेटवार्तामा नेपाल र अष्ट्रेलिया बीचको आर्थिक व्यापारिक सम्बन्ध, द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन तथा नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरुका विषयमा कुराकानी भएको थियो । नेपाललाई कसरी लगानीको गन्तव्य बनाउने, आपसी लगानी विस्तार तथा व्यवसायिक भ्रमण आदान प्रदान लगायतमा विशेष जोड दिइएको थियो ।
राजदुत ग्लिन ह्वाइटले नेपालको आर्थिक विकासमा निजी क्षेत्र सशक्त रुपमा अगाडी बढिरहेको जानकारी पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले नेपाललाई लगानीको गन्तव्यका रुपमा पहिचान दिलाउन तथा लगानीका लागि सम्भाव्य क्षेत्रका रुपमा पहिचान गरिएका क्षेत्रहरुमा अष्ट्रेलियन लगानी आकर्षणका लागि कुटनीतिक तबरबाट आफूले सक्दो पहल गर्ने आश्वासन दिनुभयो । निर्धारित मितिमै संविधान सभाको निर्वाचन भएमा आर्थिक विकासका गतिविधिले तीव्रता लिने उहाँले बताउनुभयो नेपाल-अष्ट्रेलिया बीचको व्यापार वृद्धिका लागि विशिष्ट प्रकारका वस्तुहरुको उत्पादन विस्तारमा समेत उहाँले जोड दिनुभयो ।
भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार, कार्यकारिणी समिति सदस्यहरु ज्ञानेन्दलाल प्रधान, कल्याणकृष्ण ताम्राकार र एजी शेर्पा, महानिर्देशक हेमन्त दवाडी उपस्थित रहनु भएको थियो ।
Source : Online Khabar

No comments:

Post a Comment