माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा हालसम्म केकति प्रगति भएको छ ?
आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । आयोजनाको सम्पूर्ण निर्माण कार्यलाई चारओटा भाग (लट)मा विभाजन गरिएको छ । तिनलाई अन्तरराष्ट्रिय प्रतिस्पर्धाबाट चयन भएका ठेकेदार कम्पनीहरूले आफ्नो भागमा परेको काम शुरू गरी निर्माणको विभिन्न चरणमा पुर्याएका छन् । लट–१ मा सिभिल कार्य पर्छ । यसअन्तर्गत सुरुङ,बाँध, इण्टेक, बालुवा थिग्र्याउने पोखरी, भूमिगत विद्युत् गृहलगायतको निर्माण भइरहेको छ । कुल १६ किलोमिटर लामो सुरुङमध्ये ९ दशमलव ३ किलोमिटर सम्पन्न भएको छ । लट–२ मा हाइड्रोमेकानिकल कार्य पर्छ । यसअन्तर्गत बाँध, इण्टेक, डिस्याण्डरलगायतमा गेट, स्टपलग, पेनस्टक स्टील पाइपको डिजाइन,जडान, परीक्षण र कमिसनिङको कार्य भइरहेको छ । लट–३ मा मेकानिकल र इलेक्ट्रिकल कार्यअन्तर्गत आयोजनाका मुख्य टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर, स्वीच गियर, भल्ब, गभर्नर र सोसँग सम्बन्धित कार्य भइरहेको छ । लट–४ मा प्रसारण लाइन तथा सबस्टेशनअन्तर्गत विद्युत् गृहस्थल गोँगरदेखि खिम्ती सबस्टेशनसम्म २ सय २० केभी क्षमताको ४७ किलोमिटर प्रसारण लाइन र खिम्तीमा सबस्टेशन कार्यहरूको डिजाइन, निर्माण, परीक्षण र कमिसनिङको काम पनि सुचारु छ । समग्रमा आयोजनाको हालसम्मको प्रगति उत्साहबर्धक छ ।
आयोजना केकति कारणले अरूभन्दा महत्वपूर्ण छ ?
नेपालमा जलविद्युत् विकासको पर्याप्त सम्भावना भएर पनि अहिलेसम्म यसको समुचित विकास हुन सकेको छैन । यस्तो अवस्थामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४ सय ५६ मेगावाट) देशकै सबभन्दा ठूलो विद्युत् आयोजना बन्न पुगेको छ । त्यसको साथै यसलाई धेरै पक्षबाट आकर्षक पनि मानिएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त र राष्ट्रिय गौरवको यो आयोजना नितान्त स्वदेशी लगानी र शीपमा निर्माण भइरहेको कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ । प्रतियुनिट विद्युत् उत्पादन लागतका हिसाबले देशमा हालसम्म निर्माण भएका र अध्ययन गरिएका आयोजनामध्ये सबैभन्दा सस्तो हुनु, ३ सय मिटर अग्लो प्राकृतिक बाँध र ८ सय २२ मिटर ‘वाटर हेड’ उपलब्ध हुनु, आयोजनाको भौगर्भिक अवस्था भूमिगत संरचनाका लागि धेरै अनुकूल हुनु, तामाकोशी नदीको बहावमा धेरै उतारचढाव नहुनु, नदीको पानीमा बालुवाको मात्रा तुलनात्मक रूपमा कम हुनु र आयोजनाबाट न्यून वातावरणीय प्रभाव हुनु यस आयोजनाका विशेष आकर्षक पक्ष हुन् । नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष, सञ्चयकोष, राष्ट्रिय बीमा संस्थानजस्ता सरकारी निकाय र दोलखावासीको समेत स्वामित्व हुनुले पनि यस आयोजनाको छुट्टै महत्व झल्किन्छ । यो आयोजना निजी–सार्वजनिक–साझेदारी मोडलमा सञ्चालन भइरहेको छ ।
आयोजनाले स्थानीयलाई १० प्रतिशत शेयर दिने निर्णय गरेको छ । यसले के महत्व राख्छ ?
जुन क्षेत्र/जिल्लाअन्तर्गतको नदीबाट जलविद्युत् आयोजना निर्माण गरिँदै छ, त्यहाँका स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यले दोलखावासीलाई १० प्रतिशत शेयर उपलब्ध गारउने निर्णय गरिएको हो । यसले प्रत्यक्ष वा परोक्ष रूपमा स्थानीयलाई फाइदा हुनेछ । साथै स्थानीयलाई आयोजनाले १० प्रतिशत शेयर छुट्ट्याउनु एउटा सकारात्मक शुरुआत पनि हो । यसले स्थानीयवासीमा आयोजना/कम्पनीप्रति अपनत्व प्रगाढ बनाउनेछ । यो परिपाटीलाई अन्य आयोजनाले पनि अनुशरण गरेर स्थानीयहरूलाई शेयर प्रदान गर्न थालेको पाइएको छ ।
आयोजनाको काम ढिला शुरू भएको थियो, निर्धारित समयमा पूरा होला त ?
सिभिल निर्माण कार्यको ठेक्का सम्झौता भएपछि ठेकेदार कम्पनीलाई केही प्रारम्भिक कार्यहरू गर्नुपर्ने हुन्छ । त्यसैले केही ढिला हुन गएको हो । आयोजना स्थलसम्म पुग्ने प्रवेशमार्गको स्थानीय ठेकेदारहरूबाट ट्र्याक खोल्ने कार्य भयो । पछि चिनियाँ ठेकेदार कम्पनीले उक्त प्रवेशमार्गलाई लामाबगरसम्म नै यातायात चल्ने स्तरको सडक बनाउन केही समय लाग्यो । त्यस्तै, निर्माण उपकरणहरू आयात गर्न सरकारी निकायहरूबाट स्वीकृति लिनुपर्ने, विष्फोटक पदार्थसम्बन्धी प्रक्रियाहरूका लागि सोचेको भन्दा बढी समय लागेको हुँदा शुरूमा आयोजनाको निर्माण कार्य केही ढिला भयो । अहिले सबै पक्षले शुरूमा हुन गएको ढिलाइलाई दृष्टिगत गरी निर्धारित समयमा पूरा गर्न सक्दो प्रयास भइरहेको छ । जलविद्युत् आयोजना निर्माणमा थुप्रै चुनौती/जोखीम हुन्छन् । तर, अहिलेसम्मको प्रगति हेर्दा निर्धारित समयमा आयोजना सम्पन्न गर्न सबै पक्ष प्रतिबद्ध छन् । आयोजना व्यवस्थापन यसमा आशावादी छ ।
आयोजना निर्माणमा केकस्ता समस्या देखिएका छन् ?
हालसम्म यस आयोजनामा अन्य आयोजनाहरूको तुलनामा खासै समस्या आएको छैन । निर्माण कार्यको प्रत्यक्ष सुपरिवेक्षण गर्ने काम दक्ष र अनुभवी अन्तरराष्ट्रिय भूगर्भविद् तथा इञ्जिनीयरहरूबाट हुनाले प्राविधिक समस्या तुरुन्त समाधान हुने गर्छन् । मुख्य संरचनाहरू भूमिगत रहेको र आयोजना स्थलको भौगर्भिक अवस्था अनुकूल हुनाले पनि निर्माण कार्यमा समस्याहरू आएका छैनन् । आयोजनासम्म पुग्न प्रयोग गरिने चरीकोटदेखि लामाबगरसम्मको (६८ किलोमिटर) प्रवेशमार्गमा भने समस्या आउने गरेका छन् । विशेषगरी वर्षायाममा बाटो अवरुद्ध भएमा निर्माण कार्यमा प्रत्यक्ष असर पुग्छ । त्यसैले, प्रवेशमार्गलाई चुस्तदुरुस्त राख्न जरुरी छ । यस्ता समस्या समाधान गर्न सबै सरोकारवालाले महइभ्वपूर्ण सहयोग पनि गरेका छन् । आयोजना निर्माणका लागि छनोट भएका ठेकेदारले विभिन्न सरकारी निकायबाट स्वीकृति, लाइसेन्सलगायत लिनुपर्छ । यसमा धेरै समय लाग्ने गरेको छ । यसका लागि सरकारले ‘एकद्धार नीति’ अवलम्बन गर्दा राम्रो हुन्छ । यसले छोटो समयमा काम सम्पन्न गर्न सघाउनेछ ।
आयोजनाले स्थानीय स्तरमा कस्ता परिवर्तनहरू ल्याउनेछ ?
यसले सम्बन्धित क्षेत्रको विकासमा सहयोग पुर्याइरहेको छ । प्रवेशमार्ग लामाबगरसम्म पुगेको हुँदा स्थानीयलार्इ आवतजावतमा सुविधा भयो। साथै टेलिफोन, बिजुलीलगायत सुविधा स्थानीय स्तरमा उपलब्ध भएका छन् । आयोजनामा हाल करीब ८ सय स्थानीयले रोजगारी प्राप्त गरेका छन् । त्यस्तै, पा्र विधिक तहमा काम गर्ने धेरै पनि धेरै छन । आयोजनाको विकाससँगै स्थानीय स्तरमा रोजगारी, सूचना, सञ्चार, विद्युतिकरण, सडकको पहुचका साथै सामाजिक जनचेतनालगायत परिवर्तन भएको देखिन्छ ।
देशमा विद्यमान लोडशेडिङ अन्त्यमा आयोजनाले कत्तिको सहयोग पुर्याउला ?
अहिलेको लोडशेडिङ अन्त्य गर्न नसके पनि यसले न्युनीकरण गर्ने निश्चित छ । प्रस्तावित निर्माण तालिकाअनुसार आयोजनाको सम्पूर्ण कार्य २०७२ चैतमा सम्पन्न भई विद्युत् उत्पादन शुरू हुनेछ । यसले वार्षिक औसत ऊर्जा २ हजार २ सय ८१ गिगावाट प्रतिघण्टा (२ अर्ब २८ करोड युनिट ऊर्जा राष्ट्रिय विद्युत् प्रणालीमा थपिनेछ । हिउँदको सुक्खा महीनाहरूमा पनि यस आयोजनाले दैनिक ४ घण्टा ४ सय ५६ मेगावाट विद्युत उत्पादन गर्ने छ ।
प्रस्तुति : रवीन्द्र गौतम / अभियान
No comments:
Post a Comment