Tuesday, May 21, 2013

ठूलो खोला लघुजलविद्युत् बन्द

दक्षिण पर्वतको भँगरा गाविसमा रहेको ७ किलोवाट क्षमताको ठूलो खोला लघुजलविद्युत् आयोजना ६ महिनादेखि पूर्ण रूपमा बन्द भएको छ । आयोजनाको जेनेरेटरमा समस्या आएको र मर्मत गर्न रकम अभावले आयोजना बन्द भएको छ ।
२०५७ सालबाट विद्युत् उत्पादन सुरु गरेको आयोजनाबाट उत्पादन भएको विद्युत भँगरा गाउँ विकास समितिका ४० घरधुरीले उपभोग गरिरहेका थिए । कृषि विकास बंैकको २ लाख ५० हजार  रुपैयाँ र स्थानीयवासीको करिब ११ लाखको लागतमा निर्माण सम्पन्न भएको आयोजनामा पटक–पटक जेनेरेटरमा खराबी आएपछि बन्द भएको हो । स्थानीय सञ्जय सुवेदीले भने, “जेनेरेटरमा समस्या भइरह्यो, मर्मत गर्ने रकम समुदायले जुटाउन नसकेपछि आयोजना बन्द भएको छ ।”
आयोजनाको मर्मतमा हालम्म कुनै निकायले पनि चासो नदेखाएको उनले गुनासो गरे । हिउँदको समयमा कम विद्युत् उत्पादन हुने भए पनि वर्षातको समयमा क्षमताभन्दा बढी विद्युत उत्पादन हुने गरेको थियो । ठूलो खोला लघुजलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएपछि स्थानीयले गत चैत महिनादेखि केन्द्रीय उत्पादनको विद्युत् घर–घरमा जडान गरिसकेका छन् ।
“मर्मतका लागि स्थानीयले सकेनौं, अरू निकायले चासो देखाएनन्,” ठूलो खोला लघुजलविद्युत् आयोजनाका अध्यक्ष प्रेमबहादुर गुरुङले भने, “अध्यारोमा बस्नुपरेपछि केन्द्रीय लाइनको विकल्प खोजेका हौं ।” मर्मत गर्न सके आयोजना पुनः सञ्चालित हुनसक्ने अवस्थामा रहेको गुरुङले बताए ।

No comments:

Post a Comment