Saturday, May 4, 2013

माथिल्लो तामाकोसी आयोजना प्रमुख प्रतिस्पर्धाबाट

लगानीकर्ताबीच सहमति जुट्न नसकेपछि अन्ततः माथिल्लो तामकोसी जलविद्युत् आयोजना प्रमुख खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको सञ्चालक समितिले आयोजना प्रमुख खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने निर्णय गरेको छ ।
आयोजना प्रमुख प्राधिकरणकै निर्देशक -११ तह)का कर्मचारीलाई नियुक्त गर्नुपर्ने प्रस्ताव प्राधिकरणले राखेको थियो । प्राधिकरणले राखेको प्रस्तावलाई सञ्चालक समितिमा रहेका अन्य सदस्यले अस्वीकार गरेपछि आयोजना प्रमुख प्रतिस्पर्धाबाटै नियुक्त गर्ने निर्णय कम्पनीले गरेको हो । ‘प्राधिकरणकै निर्देशकलाई आयोजना प्रमुख बनाउन हामीले प्रस्ताव राख्यौँ, तर अन्य सञ्चालकले नमानेपछि प्रतिस्पर्धाबाटै नियुक्त गर्ने निर्णय भएको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले भने ।
कम्पनी सञ्चालक समिति अध्यक्षमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादव र सदस्यमा प्राधिकरणका २ महाप्रबन्धक, कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण आचार्य, नेपाल टेलिकमका कार्यकारी निर्देशक अमरनाथ सिंह र नागरिक लगानी कोषका प्रशासक ऋषिराम गौतम तथा बिमा संस्थानका प्रशासक आमन्त्रित सदस्य छन् ।
अध्यक्ष यादवले आयोजना प्रमुखको विज्ञापन गर्न कम्पनी व्यवस्थापनलाई निर्देशन दिइसकेको जानकारी दिए । ‘केही दिनभित्र प्रमुखका लागि विज्ञापन हुन्छ, प्रक्रिया छिट्टै टुंग्याउने पक्षमा छौँ,’ यादवले भने । तत्कालीन प्रमुख मृगेन्द्रबहादुर श्रेष्ठले गतवर्ष चैतमा अनिवार्य अवकाश पाएपछि आयोजना नेतृत्वविहीन छ ।
प्राधिकरण सञ्चालक समितिले श्रेष्ठले अवकाश पाउनुअगाडि नै गतवर्षको फागुनमा प्राधिकरणका निर्देशक सुनील ढुंगेललाई आयोजना प्रमुखमा नियुक्त गरेको थियो । तर, आयोजनाका प्रमुख लगानीकर्ता कर्मचारी सञ्चय कोष र नेपाल टेलिमकले नियुक्तिको विरोध गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढुंगेललाई प्रमुख नियुक्त गर्ने निर्णय फिर्ता लिन निर्देशन दिएपछि प्राधिकरण आफ्नो निर्णयबाट पछि हटेको थियो । अहिले प्राधिकरणका १० तहका कर्मचारी विज्ञानप्रसाद श्रेष्ठले आयोजना प्रमुख भई काम गरिरहेका छन् । सुरुमा निमित्त भएर काम गरेका श्रेष्ठलाई अहिले कायममुकायम -कामु) प्रमुखको जिम्मेवारी दिइएको छ ।
कामु प्रमुख भए पनि आयोजना निर्माणमा कुनै असर नपरेको कम्पनीले जनाएको छ । ‘कामु प्रमुख भए पनि सञ्चालक समितिले श्रेष्ठलाई सम्पूर्ण अधिकार दिएकाले निर्माण प्रभावित भएको छैन,’ अध्यक्ष यादवले भने ।
प्रमुख कार्यकारी अधिकृत -सिइओ)को नेतृत्वमा रहने व्यवस्थापन समूहको पनि कम्पनीले पुनः विज्ञापन गर्ने निर्णय गरेको छ । व्यवस्थापन समूहमा सिइओसहित प्रमुख प्राविधिक अधिकृत र प्रमुख लेखा तथा प्रशासकीय अधिकृत रहनेछन् ।
‘व्यवस्थापन समूह नियुक्तिका लागि पुनः प्रक्रिया सुरु गर्ने निर्णय भएको छ,’ आयोजनाका कामु प्रमुख श्रेष्ठले भने । कम्पनीले यसअघि प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेको अस्टे्रलियन कम्पनी स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन -स्मेक)लाई अयोग्य घोषणा गरेको थियो ।
तामाकोसी कम्पनीले आयोजनाको सम्पूर्ण जिम्मेवारी लिने गरी व्यवस्थापन समूह नियुक्त गर्न लागेको हो । ‘आयोजना निर्माण तीव्र गतिमा भइरहेको छ, यस्तो अवस्थामा कम्पनीलाई करोडौँ रुपैयाँ थप दायित्व पर्ने गरी व्यवस्थापन समूह किन चाहियो ?’ आयोजनाका एक कर्मचारीले भने । उनले व्यवस्थापन समूह आवश्यक नभएकाले ऋणदातासँग गरिएको सम्झौता संशोधन गरिनुपर्ने बताए ।
राजनीतिक हस्तक्षेप रोक्न र निर्माण कार्य प्रभावित हुन नदिन माथिल्लो तामाकोसी कम्पनीको व्यवस्थापन समूह राष्ट्रिय/ अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका माध्यमबाट आयोजना अवधिभरका लागि नियुक्त गरिन लागेको हो । आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानसँग व्यवस्थापन समूह खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने सम्झौता भएको थियो ।
प्रस्तुति: सचेन गौतम/नयाँ पत्रिका

No comments:

Post a Comment