Thursday, June 5, 2014

दुई कारागारद्वारा बिजुली बिल तिर्न अटेर

–लाइन काट्ने प्राधिकरणको तयारी 


उपत्यकाभित्रका दुई ठूला कारागारले बिजुलीको बिल तिर्न अटेर गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले पटक–पटक बिजुलीको बाँकी बक्यौता तिर्नका लागि पत्र पठाए पनि केन्द्रीय कारागार र डिल्लीबजार कारागारले प्राधिकरणलाई अटेर गरेका हुन् । दुई कारागारको मात्र प्राधिकरणलाई २ करोड ६६ लाख ८३ हजार बिजुलीको बक्यौता तिर्न बाँकी छ ।
प्राधिकरण रत्नपार्क वितरण केन्द्रका अनुसार, केन्द्रीय कारागारले १ करोड ४४ लाख २ हजार तथा डिल्लीबजारले ८२ लाख ८१ हजार बिजुलीको बक्यौता तिर्न बाँकी छ । केन्द्रीय कारागारले २०६९ असोजदेखि र डिल्लीबजारले २०६९ साउनदेखि बिजुलीको बिल तिरेका छैनन् । अन्य ग्राहकको सामान्यतः तीन महिनासम्म बिजुलीको बिल नतिरे लाइन काट्ने प्राधिकरणले कारागार संवेदनशील क्षेत्र भएको भन्दै लाइन नकाटेपछि अटेर गरेर बिल नै नतिरेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
रत्नपार्क वितरण केन्द्रले बिजुलीको बिल तिर्नका लागि दुई कारागारका साथै गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागलाई पटक–पटक पत्र लेखिसकेका छन् तर कुनै वास्ता गरेको छैन । ‘हामीले पटक–पटक गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग र दुई कारागारलाई पत्र पठाइसकेका छौं तर अझै बिजुलीको बिल तिरेको छैन,’ केन्द्रका सहायक निर्देशक टोमलाल सुवेदी भन्छन् ।
कारागार संवेदनशील क्षेत्र भएकाले अहिलेसम्म लाइन नकाटे पनि दुवै कारागारले बेवास्ता गरेपछि प्राधिकरणले लाइन काट्ने तयारी गरेको छ । ‘पटक–पटक बिजुलीको बिल नतिरे लाइन काट्छांै भनेर पत्र पठाउँदा पनि अटेर ग¥यो, अब छिट्टै लाइन काट्दै छौं,’ प्राधिकरणका एक अधिकारीले भने, ‘२ करोडभन्दा बढी वक्यौता पुगिसक्दा पनि बिजुलीको बिल तिर्न पूरै बेवास्ता गरेपछि अब लाइन काट्न लागेका छौं ।’
२०७० साउनपछि मात्र प्राधिकरणले असोज, पुस र चैतमा पत्र लेखेर तुरुन्तै बक्यौता बुझाउन र नबुझाएमा लाइन काट्ने चेतावनी दिइसकेको छ तर गृह, कारागार व्यवस्थापन विभाग र दुई कारागारले पत्रलाई अटेर गर्दै आएका छन् । ‘पत्र बुझ्छन्, छिट्टै बक्यौता बुझाउँछु पनि भन्छन् तर बुझाउन आउँदैनन्,’ लेखा प्रमुख सुवेदी भन्छन् ।
८ अर्ब बक्यौता रहेको प्राधिकरणले बक्यौता उठाउनका लागि विशेष योजना अघि बढाउन लागेको छ । ऊर्जामन्त्री राधा ज्ञवालीले समेत बक्यौता उठाउनका लागि निर्देशन दिइसकेकी छन् तर सरकारी निकायको रूपमा रहेको कारागारले नै बक्यौता बुझाउन चासो दिएका छैनन् ।

बक्समा ११ सय लाइन काटियो
    नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रले ११ सय ग्राहकको लाइन काटेको छ ।
बिजुलीको बिल नतिरेपछि रत्नपार्क वितरण केन्द्रले साउन २०७० पछि मात्र सो संख्यामा ग्राहकको लाइन काटेको हो । ‘हालसम्म १ हजार ९१ लाइन काटिएको छ,’ वितरण केन्द्र प्रमुख भानुभक्त भट्टराईले भने । केन्द्रका अनुसार काटिएका लाइनमध्ये ९ सय ४३ ग्राहकले बक्यौता तिरेर लाइन जोडिसकेका छन् ।
लाइन काटेर असुल हुनुपर्ने १ करोड ४८ लाख ६४ हजार रुपैयाँमध्ये १ करोड १३ लाख ६३ हजार रुपैयाँ असुल भइसकेको वितरण केन्द्रले जनाएको छ । बिजुलीको बक्यौता उठाउनका लागि रत्नपार्क वितरण केन्द्रले चलाएको अभियानबाट १० महिनामै १ करोड रुपैयाँभन्दा बढी संकलन गर्न सफल भएको हो । 

भीम गौतम\राजधानी
काठमाडौं, ३१ वैशाख 

No comments:

Post a Comment