Thursday, June 5, 2014

प्रति युनिट ८.४० पैसामै नलसिंहगढ जलाशययुक्त आयोजना

४१० मेगावाटको नलसिंह गाढ जलाशययुक्त जलविद्युत आयोजनाबाट प्रति युनिट ८ रुपैया ४० पैसामै विजुली उत्पादन गर्न सकिने प्रस्ताव उर्जा मन्त्रालयमा गरिएको छ । 

    जलविद्युत आयोजनाको लागत बढ्दै गईरहेको बेला र नेपाल विद्युत प्राधिकरणले सुख्यायाममा प्रति युनिट १० रुपैयाँ ६० पैसामा विजुली किन्ने निर्णय गरिरहेको बेला मन्त्रालय अन्तर्गतकै जलविद्युत लगानी तथा विकास कम्पनी लिमीटेडले सबैभन्दा सस्तोमा विजुली उत्पादन गर्ने प्रस्ताव गरेको हो । जलाशयुक्त आयोजनाको अभावमा सर्वसाधारणले दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ भोग्नुपरिरहेको बेला सो आयोजनालाई सबैभन्दा सस्तो र छिटो बन्न सक्ने आयोजनाको रुपमा लिइन्छ ।
    नलसिंहगढबारे वित्तिय व्यवस्थापनको प्रस्ताव गर्दै कम्पनीले आयोजनाको लागत सुख्खा याममा ८ रुपैयाँ ४० पैसामा विजुली उत्पादन गर्दा आयोजनाले बार्षिक ११ अर्ब रुपैयाँ कमाउने र औसतमा ७ अर्बको ऋणको सावा र व्याजका लागि छुट्याउँदा आयोजनाको पे व्याक पेरियड ११ बर्ष रहेको अवधारणापत्रमा उल्लेख छ । आयोजनाको कुल लागत ७३ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएको छ ।
    प्रति बर्ष १३ सय ६७ गिगावाट घण्टा उर्जा उत्पादन गर्ने उल्लेख गर्दै अवधारणापत्रमा ऋण र स्वपुँजी (इक्वेटी)को अनुपातको आधारमा ५१ अर्ब २७ करोड ऋण लिनुपर्ने तथा २१ अर्ब १० करोड बराबर इक्वेटीमा लगानी गर्ने उल्लेख छ । स्पेशल पर्पोस भेइकल (एसपीभी) कम्पनीको रुपमा दर्ता भई स्वदेशी लगानीमै निर्माण गर्न सकिने आयोजनाका लागि आवश्यक ऋणमध्ये २५ अर्ब ६३ करोड विदेशी ऋण तथा २५ अर्ब ६३ करोड नेपाली बैक, सञ्चय कोष लगायतबाट उपलब्ध गराउन सकिने तथा इक्वेटीको २१ अर्बमध्ये १० करोड सरकार तथा अन्य रकम नेपाल विद्युत प्राधिकरण, कम्पनी, सर्वसाधारणबाट लगानी गर्न सकिने उल्लेख छ । आठ बर्षभित्र सम्पन्न गर्ने आयोजनाका लागि सरकारले ६ बर्ष १ अर्ब २५ करोड र २ बर्ष १ करोड ६५ करोड मात्र लगानी गरे पुग्ने अवधारणापत्रमा उल्लेख छ । अवधारणा अनुसार, इक्वेटीमा प्राधिकरण र कम्पनीको १०÷१० प्रतिशत लगानी रहने छ भने कम्पनीको इक्वेटी कोष, संस्थागत लगानीकर्ता तथा सर्वसाधारणबाट लगानी गर्न सकिने उल्लेख छ । ‘कम्पनी नलसिंह गढका लागि लगानी गर्न तयार छ ।’–कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले भने–‘विदेशी ऋण तथा स्वदेशी संस्थाहरुबाट रकम जुटाउनका लागि कम्पनीले पहल गर्छ ।’–
    प्राधिकरण र जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) ले संयुक्त रुपमा गरेको अध्यनबाट  १० उत्कृष्ट जलाशययुक्त आयोजना छनोट गरेकोमा मध्यपश्चिमको जाजरकोटमा पर्ने उक्त आयोजना एक नम्बर उत्कृष्ट आयोजनाको रुपमा छनोट गरिएको छ । सरकारले पनि यो आयोजना अघि बढाउनका लागि नलसिंह गढ जलविद्युत विकास समिति गठन गरिसकेको छ । समितिका अध्यक्ष शेरबहादुर शाही क्षेत्रीय सन्तुलन कायम गर्न तथा जाइकाको अध्ययनमा समेत सबैभन्दा सस्तो आयाजना देखिएकोले स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने बताउँछन् । ‘जनताको फाइदा र स्वदेशी लगानीमै बनाउनका लागि हामी सक्रिय छौ ।’–उनले भने–‘कम क्षति र सस्तोमा विजुली उत्पादन हुने हुनाले यसतर्फ राज्यको ध्यान बढी जानुपर्छ, यो आयोजना सबैभन्दा चाँडो बन्ने जलाशययुक्त आयोजना हो ।’ जाइकाले प्रति इकाई लागत युएस सेन्टमा प्रति किलोवाट आवर ५ दशमलब ६ मात्र पर्ने उल्लेख छ ।
    विकास समितिले आगामी साउनदेखि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) सुरु गर्न लागेको छ । समितिका अनुसार, सम्भाव्यता अध्ययन भईरहेको आयोजनाको साउनदेखि डीपीआर सुरु गरी तीन बर्षभित्र पुरा गर्ने लक्ष्य राखिएको छ । डीपीआरका लागि परामर्शदाता छनोट अन्तिम चरणमा पुगेको अध्यक्ष शाहीले जानकारी दिए ।
    आयोजनाका लागि विद्यृत गृहदेखि बाँधसम्मको १२ किलोमिटर मोटरबाटो निर्माण कार्यका लागि प्रकृया अघि बढाईएको र जग्गा अधिग्रहणका लागि जग्गा सर्भे कार्य सुरु गरिएको समितिले जनाएको छ । पानीका वहाव नाप्ने गर्जिङ स्थापनाका साथै आयोजनाको सम्पर्क कार्यालय जाजरकोटको खजानाकोटमा स्थापना गरिसकेको आयोजनाले जनाएको छ । आयोजनाका लागि आगामी बर्षका लागि ८४ कराड रुपैयाँ बजेट प्रस्ताव गरेपनि राष्ट्रिय योजना आयोगले १२ करोडको मात्र सिलिङ तोकेको छ । समितिले सिलिङ बजेट एकदम कम भएको भन्दै कम्तीमा ३३ करोड चाहिने पत्र अर्थ मन्त्रालयमा पठाईसकेको जनाएको छ ।
        जाजरकोटको सक्ला र खगेनकोट गाविसमा निर्माण हुने आयोजनाबाट १सय ५० घरधुरी मात्र विस्थापित हुने समितिले जनाएको छ । सो आयोजनामा ११२ किलोमिटर लामो ४४० केभीको डब्बल सर्किटको प्रशारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ । ६ किमि सुरुङ हु“दै निर्माण गर्नुपर्ने आयोजनाको ६९८ मिटर हेड छ । 

भीम गौतम\राजधानी

No comments:

Post a Comment