Thursday, June 5, 2014

राहुघाट जलविद्युत्को काम अझै सुस्त

नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको काम अझै सुस्त छ ।

परामर्शदाता नियुक्तिमा भारतीय एक्जिम बैंकको स्वीकृतिलगायतका कारणले निर्माणमा ढिलाइ भएको आयोजनाको काम गत कात्तिकदेखि सुरु भए पनि अझै काम सुस्त देखिएको हो । परामर्शदाताले ठेकेदार कम्पनीलाई काम अघि बढाउन निर्देशन दिएको एक वर्ष नाघिसक्दा पनि काम द्रूतगतिमा अघि बढ्न सकेको छैन । ‘बिस्फोटक पदार्थलगायतको व्यवस्थापन गर्न लागेका छौं, छिट्टै द्रूतगतिमा काम अघि बढ्छ,’ आयोजना प्रमुख मोहनरत्न शाक्यले भने ।
तीन वर्षअघि नै आयोजना निर्माणका लागि सिभिल ठेकेदार आईभीआरसीएल लिमिटेड र सन् दुई वर्षअघि परामर्शदाता  वापपोससँग सम्झौता भए पनि सन् २०१३ को जनवरीमा मात्र एक्जिम बैंकले परामर्शदाताको नियुक्तिलाई स्वीकृति दिएको थियो ।
सुरक्षालगायतका कारण देखाउँदै गत कात्तिकदेखि मात्र काम सुरु गरेपछि अझै पूर्ण रूपमा सुरु हुन नसकेको आयोजनाका एक अधिकारीले जानकारी दिए । ‘आयोजना निर्माणका लागि आवश्यक सबै उपकरण नै आइसकेका छैनन्, ठेकेदार कम्पनीले विस्तारै थोरैथोरै मात्र सामान ल्याइरहेको छ, परामर्शदाताले ठेकेदार कम्पनीलाई बढी सक्रिय गराउन सकेको छैन,’ ती अधिकारीले भने, ‘अहिलेसम्म आयोजना निर्माण सुरु हुनुअघिका अधिकांश पूर्वाधार निर्माण नै पूरा भएका छैनन् ।’
आयोजनाका अनुसार आयोजनाका लागि आवश्यक विस्फोटक पदार्थ राख्ने बैंकर, सडक, ११ ओटा आवास भवनहरूलगायत पूरा हुन सकेको छैन । पहिला पिप्लेको बाटो नजिक बैंकर बनाउने योजना रहेकामा सुरक्षाको कारण देखाउँदै अन्तै बनाउनुपर्ने अवस्था आएपछि अहिले अस्थायी रूपमा मात्र बनाउन लागिएको तर पूरा भएको छैन । पहिला तय गरिएको मोटरबाटोको डिजाइन परिवर्तन गरेर तालदेखि पिप्लेसम्मको मोटरबाटोको रुट परिवर्तन गरी निर्माण गर्न लाग्दा वन मन्त्रालयले नयाँ रुटको वातावरणीय अध्ययन नगरेको भन्दै अवरोध गरेपछि मोटरबाटोको निर्माण कार्य पनि पूरा हुन सकेको छैन ।
सन् २०१० मै ११ ओटा आवासीय भवन निर्माणका लागि सम्झौता भए पनि ४ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । ‘ठेकेदार कम्पनीले समयमै आयोजना नबनाउँदा पनि प्राधिकरणले ६÷६ महिना थपिरहेको छ । ‘आवासीय भवन बनेमा मात्र पनि सबै कर्मचारी एकत्रित भएर काम अघि बढाउन सजिलो हुन्थ्यो,’ आयोजनाका एक कर्मचारीले भने ।
परामर्शदाता नियुक्तिमा ढिलाइ, असुरक्षालगायतका कारण देखाउँदै ठेकेदार कम्पनीले निर्माण सुरु नहुँदै १४ करोड दाबी गरे पनि प्राधिकरण सञ्चालक समितिले ३ करोड ९३ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । त्यो निर्णय गरेपछि आयोजनाको निर्माण कार्य केही अघि बढे पनि अझै सुस्त रहेको र पूर्ण रूपमा कहिलेदेखि सुरु हुन्छ भन्ने अन्योलत रहेको प्राधिकरणका कर्मचारी बताउँछन् । प्राधिकरणद्वारा निर्माणाधीन आयोजनाको लागत र समय दुवै बढिरहेका बेला राहुघाट आयोजना सुरु नहुँदै समस्यामा परे पनि प्राधिकरण व्यवस्थापनले दू्रतगतिमा अघि बढाउन पहल नगरेको भन्दै राहुघाट आयोजनाका कर्मचारी चिन्तित बनेका छन् ।
म्याग्दीको झीं, दग्नाम र राखुपिल्ले गाविसमा निर्माणाधीन आयोजनाको ७ किलोमिटर लामो सुरुङ छ । आयोजनाको लागत करिब ३ अर्ब रुपैयाँ छ ।

भीम गौतम\राजधानी
काठमाडौं, ३ जेठ

No comments:

Post a Comment