Thursday, April 11, 2013

महासंघको साधारणसभाले जलविद्युत्मा राजनीतिक सहमति जुटाउनेछ

ज्ञानेन्द्रलाल प्रधान
सभापति : जलविद्युत् समिति, नेपाल उद्योग वाणिज्य महासंघ
Gyanendra Lal Pradhan
नेपाल उद्योग वाणिज्य महासंघको आज बुधबार हुन गइरहेको ४७ औं वार्षिक साधारणसभाले अन्य आर्थिक मुद्दालाई थाँती राखेर जलविद्युत् विकासलाई प्रमुख मुद्दा बनाएको छ । साधारणसभाको अवसर पारेर महासंघले विदेशी लगानीकर्ताको उपस्थितिमा प्रमुख राजनीतिक दलका नेताहरूबाट जलविद्युत् विकासमा राष्ट्रिय प्रतिबद्धता लिँदैछ । यो प्रतिबद्धतालाई महासंघले विदेशका साथै देशभित्रका आफ्ना चेम्बरमार्फत प्रत्येक जिल्लामा पु¥याएर जलविद्युत्मा लगानीमैत्री वातावरण बनाउने महासंघ जलविद्युत् समितिका सभापति तथा ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान बताउँछन् । लगानीकर्ताले देशको राजनीतिक अवस्था हेरर अनुकूल भएमात्र लगानी गर्ने भएकाले महासंघले जलविद्युत्मा राजनीतिक सहमति जुटाउन प्रयास गरेको उनको भनाइ छ । साधारणसभामा भारत, चीन, लाओस र भुटानका जलविद्युत् विकासमा सफल कम्पनीका प्रतिनिधिले भाग लिँदैछन् । महासंघको जलविद्युत् विकास योजनाका बारेमा केन्द्रित रहेर प्रधानसित बाबुराम खड्काले गरेको कुराकानी :
नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ४७ औं वार्षिक साधारणसभालाई यसपटक ऊर्जामा केन्द्रित गरेको छ, अन्य प्रमुख आर्थिक मुद्दा हुँदाहँुदै किन ऊर्जालाई प्राथमिकता दिइएको हो ?
महासंघले मजदुरको न्यून वेतन, सिन्डिकेट, बन्द–हड्ताल, असुरक्षालगायत दर्जनौं आर्थिक समस्या उठाउनुपर्नेमा कुनै विवाद छैन । विगतका साधारणसभामा महासंघले अन्य मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउँदै आएको थियो, तर विषय केन्द्रित भएर मुद्दा उठाउन सकेको थिएन । यसपटक कमसेकम एउटा समस्यालाई केन्द्रित गरेर जानुपर्छ भन्ने अध्यक्षको धारणा आयो । ऊर्जामा देखिएको प्रमुख समस्या राजनीतिक अस्थिरता नै हो । राजनीतिक समस्या भित्र छैन, बाहिर मात्र छ । गाउँ र त्यसपछि देशको विकास गर्नुपर्छ, त्यसको आधारशीला जलविद्युत् नै हो भन्ने कुरामा सबै राजनीतिक दल सहमत छन् तर व्यवहारमा त्यस्तो देखिएको छैन । जुन पार्टीको सरकार बन्छ त्यसले जलविद्युत् विकासमा फरक–फरक नीति तथा कार्यक्रम ल्याउने गरेका छन् । यसले लगानीकर्तालाई झनै अन्योलमा पारेको छ । उदाहरणका रूपमा सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना ल्यायो, त्यो कार्यदलमा म पनि सदस्य थिएँ । त्यसपछि नेपाली कांग्रेसका डा. प्रकाशशरण महत ऊर्जामन्त्री बन्नुभयो, उहाँले २० वर्षमा २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना बनाउनुभयो । त्यसबेला सरकारको नेतृत्व नेकपा एमालेले गरेको थियो । झलनाथ खनालको सरकारले पाँच वर्षमा २ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्नुपर्छ भन्ने अर्को नयाँ ऊर्जा विकास योजना ल्यायो । यी तीनै योजना कार्यान्वयनमा आउन सकेका छैनन् । सरकारैपिच्छे योजना आए पनि पछिल्लो समयमा यस क्षेत्रमा ठूलो परिवर्तन आएको छ । हाल १ हजार २ सय ५० मेगावाट क्षमताका विद्युत् आयोजना हाल निर्माणाधीन छन् । यी सबै आयोजना आगामी चार वर्षमा सम्पन्न हुनेछन् । देशले सय वर्षमा ७ सय मेगावाट बनाउन सकेको थिएन, अब आउने चार वर्षमा १ हजार २ सय मेगावाट विद्युत् थपिने अवस्था बनेको छ । तर, यसले मात्र देशको ऊर्जा समस्या समधान हुँदैन । साधारणसभाबाट हामीले यो नीतिगत मतभेदलाई चिर्ने प्रयत्न गर्नेछांै । जलविद्युत्मा सबैको एउटै नीति र योजना हुनुपर्छ भन्ने हाम्रो माग हो । श्वेतपत्रमार्फत राजनीतिक प्रतिबद्धता जाहेर गरिदिनुस् भनेर हामीले श्वेतपत्र तयार गरेका छौं । प्रमुख राजनीतिक दलहरूले यसमा हस्ताक्षर गर्ने कार्यक्रम राखेका छौं । यो हस्ताक्षर कार्यक्रमलाई राजधानीमा मात्र सीमित नराखी प्रत्येक जिल्लामा रहेका महासंघका स्थानीय चेम्बरहरूले यसलाई घोषणापत्रको रूपमा अघि बढाउनेछन् । म्याग्दी र लमजुङ जिल्लामा स्थानीय स्तरबाटै जलविद्युत् विकास घोषणापत्र जारी भइसकेको छ । जुनजुन जिल्लामा जलविद्युत् विकास सम्भव छ त्यहाँका चेम्बरले यसलाई कार्यान्वयनमा ल्याउनेछन् । यसले केन्द्रमा भएको राजनीतिक सहमतिलाई स्थानीय निकायको तल्लो तहमा समेत पु¥याएर जलविद्युत् विकासमा लगानीको वातावरण बनाउने अपेक्षा हामीले लिएका छौं ।
देशमा ऊर्जा समस्या बढ्दै गएको छ, यसबाट निजी क्षेत्र प्रताडित भएको छ, यही बेलामा राज्यलाई झकझकाउनुपर्छ भन्ने मान्यताका साथ ऊर्जालाई केन्द्रित गर्नुभएको हो ?
हो, ऊर्जा समस्याबाट सबैभन्दा बढी प्रताडित महासंघका सदस्य नै हुन् । कुल आपूर्तिको ४५ प्रतिशत ऊर्जा महासंघअन्तर्गतका उद्योगी व्यवसायीले खपत गर्छन् । पर्याप्त ऊर्जा आपूर्ति नभएपछि त्यसको वैकल्पिक उपाय अवलम्बन गर्दा उद्योग व्यसासायीको लागत तीन गुणाले बढेको छ । लोडसेडिङसँगै कृषि वा अन्य उत्पादनमूलक उद्योगमा प्रयोग हुने सबै ऊर्जाको मूल्य अत्याधिक बढेको छ, जसले हाम्रो प्रतिस्पर्धी क्षमता घटाइदिएको छ । यसको सीधा असर निकासी व्यापारमा परेको छ । निकासी व्यापारमा भारी गिरावट आउनुको प्रमुख कारण भरपर्दो र गुणस्तरीय ऊर्जा आपूर्ति नहुनु नै हो । एकातिर हाम्रो व्यापारघाटा विकराल समस्या बनेको छ । बाहिरबाट आएको रेमिट्यान्सले पनि व्यापारघाटा धान्न नसक्ने अवस्था आइसकेको छ । वार्षिक ३५ अर्ब रुपैयाँ व्यापारघाटा ऊर्जा अभावले भएको छ । ऊर्जा आपूर्ति घट्दै गएपछि ५ अर्ब रुपैयाँको डिजेल खपत बढेको छ, नेपाल विद्युत् प्राधिकरणले ५ अर्ब रुपैयाँको बिजुली भारतबाट खरिद गरेको छ । यस्तै सोलार लाल्टिन आयातका साथै ठूला लगानी जेनेरेटर खरिदमा अर्बौं रुपैयाँ लगानी भएको छ । ऊर्जाको यो विकराल समस्या शून्य गर्न सकियो भने व्यापारघाटा त्यसै कम हुन्छ । ऊर्जाले सबैभन्दा पहिले गाउँकै विकास गर्छ । अहिले पनि यस क्षेत्रले प्रत्यक्ष रूपमा १० हजार जनालाई रोजगारी दिएको छ । यस्तै ऊर्जामा ठूलो वैदेशिक लगानी नेपाल भित्रिएको छ । राजनीतिक सहमति बन्नासाथ यो लगानी कार्यान्वयनमा आउँछ । कुनै पनि विदेशी लगानीकर्ताले गर्ने पहिलो प्रश्न नै यहाँ राजनीतिक सहमतिका बारेमा हुने गरेको छ । राजनीतिक सहमति बन्यो भने जुन पार्टीको सरकार आए पनि फरक नपर्ने भएकाले हामीले सहमति जुटाउने प्रयत्न गरेका छौं ।
यही अवसरमा विदेशी ठूला कम्पनीले पनि सहभागिता जनाउँदै छन्, उनीहरूबाट यहाँले के अपेक्षा गर्नुभएको छ ?
नेपालले १ सय वर्षमा ७ सय मेगावाट मात्र विद्युत् उत्पादन ग¥यो । यसबाट हामीसित ठूला आयोजना निर्माणमा अनुभव नै नभएको प्रस्ट हुन्छ । अर्कातर्फ हामीबीच नै कस्तो द्वन्द्व भयो भने विदेशीलाई ठूला आयोजना दिनु हुँदैन । विदेशीलाई आयोजना बनाउन दिँदा राष्ट्रघाती हुन्छ भन्ने धारणा राजनीतिक दलहरूबाट आएको छ । कस्ता आयोजना बनाउने वा नबनाउने भन्ने विषयमा हामीबीच एकमत छैन । राजनीतिक दलबीचको यो मानसिकता चिरेर विकासमा एकमत बनाउनु नै हाम्रो प्रमुख लक्ष्य हो । साना, मध्यम र ठूला योजना सबै बनाउनुपर्छ, त्यसका लागि राज्यले बैंकिङ क्षेत्रको लगानी जलविद्युत्तर्फ बढी गर्ने वातावरण बनाइदिनुपर्छ । सरकारले प्रतिबद्धता जनाएको ५५ अर्ब रुपैयाँ अझैसम्म आएको छैन, यसलाई तत्काल ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्छ । ऊर्जाले नै उद्योगधन्दादेखि पूर्वाधार विकासका साथै पर्यटन विकासको फाउन्डेसन तयार गर्छ । हामीले साधारणसभामा ऊर्जा विकासमा सफल भएका देशका कम्पनीहरूलाई बोलाएका छांै । एक जमानामा थ्री गर्जेज आयोजना बनाउनुपर्छ भनेर माओले भन्दा संसारभरि हाँसोको विषय भएको थियो । अहिले संसारको सबैभन्दा ठूलो थ्री गर्जेज जलविद्युत् परियोजना बनाउन चीन सफल भयो । एक समयमा पश्चिमी मुलुक ऊर्जामा धेरै अघि थिए, अहिले चीनले ती सबैलाई पछि पारिसकेको छ । चीन अहिले जलविद्युत् विकास, निर्माण र औद्योगिक विकासमा सबैभन्दा अघि छ । थ्री गर्जेजका उच्च अधिकारीलाई हामीले बोलाएका छौं्र । कसरी ठूला योजना सम्पन्न गर्न सकिन्छ भन्ने जानकारी उनीहरूबाट लिँदैछौ । हाम्रो देशमा पनि ११ हजार मेगावाटको कर्णाली चिसापानी एउटै ठूलो जलविद्युत् आयोजना छ । यस आयोजनामा चिनियाँ लगानी आउने सम्भावना छ । यो आयोजनाबाट उत्पादन हुने बिजुली भारत र बंगलादेश निर्यात हुने प्रबल सम्भावना छ । यो आयोजना धेरै अघि सम्पन्न हुनुपथ्र्यो, त्यो हुन सकेन । पछिल्लो समयमा जलविद्युत् विकासमा सफल लाओसलाई पनि सहभागी गराउँदै छौं । हामी छिमेकीसँग जलविद्युत् विकासमा सहकार्य गर्न असफल भएका छौं भने लाओस सफल छ । उसले छिमेकीबाट लगानी ल्याएर छिमेकीलाई नै ऊर्जा निकासी गर्दै आएको छ । यो मोडलको जानकारी लिन हामीले लाओसको ऊर्जा कम्पनीलाई बोलाएका छौं । हामी ऊर्जा र पानीको कुरा गर्नासाथ भारतमा उज्यालो र यहाँ अध्यारो हुन्छ भन्छौं । नेपालमा उज्यालो गरेपछि मात्र विदेशमा बिजुली निकासी गर्नुपर्छ भन्ने महासंघको धारणा हो । हामीसँग ८३ हजार मेगावाटको सम्भावना र अहिलेको विद्युत् उच्चतम माग १ हजार मेगावाटबीच जुन अन्तर छ यो नै निकासीका लागि आधार हो । निकासीजन्य आयोजना नबनाउने हो भने अझै हाम्रो जलविद्युत् विकास एक दशकपछि धकेलिनेछ । भारत हाम्रो ठूलो सम्भावित बजार हो । यस्तै भारतले नेपालबाट निकासी हुने बिजुलीमा प्रतियुनिट २ रुपैयाँ भारु कर लगाएको छ, त्यो नहटाएसम्म निकासीजन्य आयोजना आर्थिक रूपमा सम्भाव्य हुँदैनन् । त्यसैले उच्च सरकारी अधिकारीसँग छलफल गरेर यो समस्या हटाउन हामी पहल गर्ने छौं । भुटान सानो अर्थतन्त्र भएको मुलुकले आज जलविद्युत्मा ठूलो फड्को मारेको छ । भुटानले १ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरी भारतलाई बेचिरहेको छ । भुटानको फुनसुलिङमा बिजुली सस्तो भएका कारण पश्चिमबंगालका उद्योगहरू त्यहाँ गएका छन् र त्यहाँ उनीहरूले भुटानीलाई रोजगारी दिएका छन् । त्यसैकारण हामीले भुटानलाई पनि सहभागी गराएका छौं । यी सफल ऊर्जा उत्पादक मुलुकबाट हामीले केहि सिक्न चाहन्छौ ।
महासंघको प्रस्तावमा प्रमुख राजनीतिक दलहरूले सहभागिता जनाइसकेका छन् त !
सबै राजनीतिक दलले हाम्रो प्रस्तावमा सहमति जनाइसकेका छन् । हामीले कानुनी सल्लाहकार राखेर सहमतिको मस्यौदा तयार ग¥यौं । त्यो मस्यौदा हामीबीचमा छलफल ग¥यौं र विज्ञबीचमा पनि छलफल चलाएपछि यसमा विवाद नआओस् भनेर हामीले सबै राजनीतिक दलका नेताहरूलाई भेटेर सहमति लिइसकेका छौं । राजनीतिक सहमतिबिना यहाँ केही पनि हुन सक्दैन । फेरि जलविद्युत् विकास गाउँगाउँमा हुने भएकाले त्यसका लागि पनि सहमति अति आवश्यक छ । सहमतिबिना वैदेशिक लगानी आउन सक्दैन र यहाँ जति वैदेशिक लगानी आएका छन्, ती सबै पर्ख र हेरको अवस्थामा छन् । यो अवस्थामा सहमति भएपछि सरकार परिवर्तनले जलविद्युत् विकासमा असर नपार्ने सन्देश लगानीकर्तामाझ जानेछ । अहिले देशमा ५ अर्ब डलर लगानी आइसकेको छ, यसलाई अब जलविद्युत्मा लगानी गर्ने वातावरण बनाउनतर्फ सबै लाग्नुपर्छ ।
पछिल्लो समयमा जलविद्युत् आयोजनाहरूले स्थानीय बासिन्दालाई सेयर दिन थालेका छन्, यसले गर्दा बिस्तारै उनीहरूको आयोजनाप्रति सकारात्मक धारणा बढ्दै गएको छ, यो मोडल कतिको सफल हुने देख्नुभएको छ ?
यो राम्रो मोडल हो । यसले आयोजनामा स्थानीयको स्वामित्व जनाउनुका साथै आयोजनाप्रति उनीहरूको अपनत्व पनि बढाउँछ । जलविद्युत् यति बृहत् क्षेत्र हो कि कुनै एक पक्षको लगानी मात्र यो सम्भव छैन । धेरै पक्षको लगानी आवश्यक पर्छ । कुनै प्रवद्र्धकले एउटा आयोजना बनाउँदै छ भने उसले त्यस क्षेत्रका जनतालाई १० प्रतिशत सेयर दिँदैमा उसको स्वामित्व घट्दैन । अहिले स्थानीयलाई सेयर दिलाउनका लागि सरकारले नीति ल्याएको छ । प्रत्येक आयोजना पब्लिक कम्पनीमा जानुपर्छ र वर्ष दिनमा सेयर आउनुपर्छ । यसो भए स्थानीयले लाभ लिन सक्छन् । चिलिमेबाट लगानीकर्ताले लाखौं रुपैयाँ कमाइसकेका छन् । यस्तै तामाकोसी आयोजनाबाट स्थानीयले कमाउँदै छन् । आयोजनाको अपनत्व कायम भएको छ । यसले अन्ततः आयोजना विकासमै जोड दिन सक्छ ।
दुई पटक ऊर्जा सम्मेलन भए पनि जलविद्युत्मा अपेक्षाकृत लगानी आएन, महासंघले ऊर्जालाई प्राथमिकता दिँदैमा थप वैदेशिक लगानी आउछ भन्ने आधार के छ ?
थप लगानीभन्दा पनि नयाँ लगानीलाई फिल्डमा लैजानुपर्छ । ५ अर्ब रुपैयाँ लगानी स्थानीयस्तरमा लैजान सकिए स्थानीयस्तरमा लाखौंको रोजगारी सिर्जना हुन्छ । अर्बौं रुपैयाँ आम्दानी हुन्छ । व्यापार घाटा कम हुन्छ । त्यसैले थप लगानी खोज्नुभन्दा निर्माणाधीन र प्रस्तावित आयोजनालाई सम्पन्न गर्नुपर्छ । यसमा स्थानीय स्तरबाट र राजनीतिक तहबाट दलबलका साथ लाग्नुपर्छ । राजनीतिक सहमति जुटे यहाँ पर्याप्त लगानी आउँछ ।
नेपाली पुँजीबाट माथिल्लो तामाकोसीजस्ता ठूला विद्युत् आयोजना निर्माण हुँदैछन् भने किन चाहियो विदेशी लगानी ?
यो गलत हो । राज्य धनी भएको अवस्थामा निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्ने होइन । चीनमा सरकारसँग पैसा र बजार भएकाले उसले नै सबै व्यवस्था मिलाउँछ । हामीसँग सीमित पुँजी छ र आवश्यकता धेरै छ । सडक खानेपानीजस्ता सबै आयोजनामा लगानी गर्नुपर्ने अवस्थामा राज्यसँग पर्याप्त रकम छैन । यो अवस्थामा निजी क्षेत्रसँग भएको पुँजी परिचालन गर्नु नै राज्यको पहिलो कर्तव्य हो । धेरै स्थानमा निजी क्षेत्रलाई अघि ल्याएको छ । निजी क्षेत्रले लाभलाई हेरेर धेरै सुलभ सेवा दिन सक्छ । बैंक र हवाईक्षेत्रमा निजी क्षेत्रको सहभागिता उल्लेखनीय छ । जलविद्युत्लाई पनि हामी यसरी नै अघि बढाउन सक्छौं । तामाकोसीजस्ता ठूला आयोजनामा राज्यको लगानी आवश्यक भए पनि साना आयोजना निजी क्षेत्रलाई दिनुपर्छ ।
नेपालको सन्दर्भमा खिम्तीको जस्तो वैदेशिक लगानी काम छैन । यसले हाम्रो पैसा विदेश गयो । यसले अरू दुईवटा आयोजना बनाइदिएको भए यसको पाप पखालिन्थ्यो । कर्णालीजस्ता आयोजनामा विदेशी लगानी आवश्यक पर्छ र जलविद्युत्को वैदेशिक लगानीको सवालमा साना आयोजनामा स्थानीय लगानीलाई प्रवद्र्धन गर्नुपर्छ । ठूला आयोजनामा वैदेशिक लगानी आवश्यक छ । नेपालीले वैदेशिक लगानी आउँदा केही कुरा चुकाउनुपर्दैन ।
अहिले प्रसारणलाइनको समस्या देखिएको छ, आपूmसित बजेट नभएको भन्दै विद्युत् प्राधिकरणले निजी क्षेत्रलाई प्रसारणलाइनमा लगानी खुला गरेको छ लगानीकर्ताको हिसावमा यहाँको धारणा के छ ?
प्रसारणलाइनको मूल्य जलविद्युत् आयोजनामा हुने लगानीको १० प्रतिशत जति मात्रै हो । १ सय रुपैयाँ लगानी गरेको ठाउँमा १० रुपैयाँ लगानी गर्न सकिन्छ, तर राज्यले सहजीकरण गर्नुपर्छ । प्राधिकरण र उःर्जा मन्त्रालयले सहजीकरण नगरेर समस्या आएको छ । प्रसारणलाइनको सवालमा नीति आउनु जरुरी छ । टावर राख्दा जग्गाधनीलाई दिने क्षतिपूर्तिलगायतका कुरा समाधान गर्नुपर्छ ।
उसोभए निजी क्षेत्र प्रसारणलाइन बनाउन तयार छ ?
अब प्रसारणलाइन निजी क्षेत्रले बनाउन आवश्यक छ । किनभने अपरमाई १२ मेगावाट र अर्को ६ मेगावाट क्षमताको आयोजना २०७० चैतसम्ममा आयोजना सम्पन्न गर्न सकिन्थ्यो, तर प्रसारणलाइन नभएका कारण २०७१ सम्ममा मात्रै आयोजना सम्पन्न हुने भयो । किनभने, हामीले प्रसारणलाइन पाएनौं । यस्तो अवस्थामा निजी क्षेत्रलाई नै प्रसारणलाइन निर्माणको जिम्मा दिए सबै कुरा समाधान हुन्थ्यो । तर, अर्कातिर हेर्दा निजी क्षेत्रलाई प्रसारणलाइनको लाइसेन्स ओगट्न दिनु हुँदैन ।
प्रतिबद्धता जनाएअनुसारको काम सरकारले नगरेपछि निजी क्षेत्रले बनाउन लागेको सुपरसिक्स आयोजना अन्योलमा छ, लगानीकर्ताको करोडौं रुपैयाँ जोखिममा परेको छ, यसले लगानीकर्तामा गलत सन्देश गएन र !
सबै समस्या समाधान भएको भए महासंघ अघि आउनुपर्ने नै थिएन । महासंघ अहिलेसम्म यति आक्रामक भएर जलविद्युत्को क्षेत्रमा आएकै थिएन । ऊर्जाक्षेत्रलाई यति महŒव दिएकै थिएन । किनभने २००३ सम्म ऊर्जाको खासै संकट थिएन । त्यसपछि बेरोजगारी, उद्योगधन्दा बन्द, आयातमा वृद्धिजस्ता समस्या देखिएकाले महासंघले यसमा जोड दिएको हो । सरकार सक्षम भएको भए हामी अघि आउने नै थिएनौं । सुपरसिक्स आयोजनाको सवालमा राज्यका निकायका बीचमा द्वन्द्व हुनु निकै नकारात्मक कुरा हो । त्यसकारण तत्काल सरकारले सुपरसिक्स आयोजना अघि बढाउनतर्फ लाग्नुपर्छ अनिमात्र सकरात्मक सन्देश जानेछ ।
निजी लगानीकर्ताहरू कहिले उद्योगमा, कहिले व्यापारमा, कहिले आयातमा लगानी गर्दै आएका छन् । महासंघका ठूला–साना धेरै लगानीकर्ता उर्जाक्षेत्रमा आएका छन् । गाउँ–गाउँमा महासंघको समन्वयमा ऊर्जा विकासको कुरा अघि आएको छ । महांघको इनर्जी सेल खोली राज्यलाई समेत बेलाबखतमा मार्गदर्शन गर्नेछ भन्ने विश्वास लिएका छौं । महासंघको अहिलेको ऊर्जाप्रतिको चासोले विज्ञबीचको द्वन्द्वलाई न्यूनीकरण गर्ने, समान धारणा राख्ने, राजनीतिक साझा धारणा बनाउने तथा वैदेशिक लगानीलाई सहजीकरण गर्नेछ । यसले महासंघको कार्उक्षेत्रलाई ऊर्जामा विस्तार गर्न मद्यत गर्छ ।
प्रस्तुति: कारोबार

No comments:

Post a Comment