Sunday, April 7, 2013

ऊर्जाद्वारा गम्भीर त्रुटि भएको ठहर

साञ्जेन जलविद्युत् कम्पनीले चिनियाँ ठेकेदार कम्पनी ‘चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी) कालोसूचीमा राखेको विषयमा परेको उजुरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको छ । ऊर्जा मन्त्रालयले गठन गरेको छानबिन समितिले भने कालोसूचीमा राख्दा र टेन्डर सुरक्षण (बिड सेक्युरिटी) जफत गर्दा गम्भीर त्रुटि भएको ठहर गरेको छ ।
साञ्जेनले कालोसूचीमा राखेपछि एक व्यक्तिले छानबिन माग गर्दै अख्तियार र ऊर्जा मन्त्रालयमा उजुरी दिएका थिए । ऊर्जाले सहसचिव मोतिबहादुर कुँवरको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । समितिले बुधबार ऊर्जासचिव हरिराम कोइरालालाई प्रतिवेदन बुझाइसकेको छ ।
संयोजक कुँवरले साञ्जेन कम्पनीले ठेक्का व्यवस्थापनमा लापरबाही गरी प्रक्रियागत त्रुटि गरेको छानबिनबाट देखिएको बताए ।
‘बिड सेक्युरिटी जफत गर्नु कम्पनीको अधिकार हो, तर कानुनी प्रक्रिया पूरा गरी रकम जफत गरिनुपर्नेमा हचुवाका भरमा जफत गरिएको छ । कम्पनीको ठेक्का व्यवस्थापनमा कमजोरी देखिएको छ,’ कुँवरले भने ।
बोलपत्र स्वीकृत गरी १५ दिनको समय दिई पर्फर्मेन्स बन्ड लिई सम्झौता गर्न बोलाउँदा कामै सुरु नगरी निर्माण अवधि बढाउनुपर्ने, असीमित क्षतिपूर्ति -क्लेम)को व्यवस्था गरिनुपर्नेलगायत १२ सर्त सिजिजिसीले राखेको थियो ।
कम्पनीका अधिकारीले सिजिजिसीलाई ठेक्का सम्झौताका लागि पटक-पटक आग्रह गरेका थिए । तर, सिजिजिसीले बाह्रबुँदे सर्त स्विकारे मात्रै सम्झौता गर्न आउने जानकारी गराएको थियो ।
ठेक्का सम्झौता गर्न अस्वीकार गरेपछि साञ्जेनले सिजिजिसीलाई कालोसूचीमा राखी बिड सेक्युरिटीबापतको ३ करोड २० लाख रुपैयाँ जफत गरेको थियो । साञ्जेनले सिजिजिसीलाई तीन वर्षसम्म ठेक्कापट्टामा अयोग्य घोषणा गरेको थियो ।
‘१५ दिनको समय दिई पर्फर्मेन्स बन्ड लिई सम्झौता गर्न बोलाई १५औँ दिनमै बिड सेक्युरिटी रकम जफत गरी कानुनी त्रुटि गरेको देखिन्छ,’ छानबिन समितिका एक सदस्यले भने । उनले परामर्शदातामा लागू हुने व्यवस्था सिभिल निर्माणको  ठेकेदारलाई प्रयोग गरी सिजिजिसीलाई कालोसूचीमा राख्ने निर्णय गल्ती भएको बताए ।
तर, साञ्जेन कम्पनीले सम्झौता गर्न बोलाइएको १५औँ दिनसम्म पनि सिजिजिसी नआएको र कार्यालय समय सकिएपछि बिड सेक्युरिटीबापतको रकम जफत गर्न बैंकलाई पत्राचार गरिएको बताएको छ ।
‘बलिया प्रमाण नभेटिएपछि अख्तियारले उजुरीलाई तामेलीमा राखिसकेको छ । तामेलीमा राखिएको उजुरी ऊर्जा मन्त्रालयले कसरी छानबिन गर्न सक्छ ? मन्त्रालयको छानबिन प्रतिवेदनको कुनै औचित्य छैन,’ साञ्जेन कम्पनी स्रोतले भन्यो ।
कम्पनीले सिजिजिसीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पुसको पहिलो साता सिफारिस गरेको थियो । तर, सार्वजनिक खरिद अनुगमन कार्यालयले बिड सेक्युरिटीबापतको रकम जफत गरिसकेको अवस्थामा दुईटा कारबाही हुन नसक्ने भन्दै सिजिजिसीलाई कालोसूचीमा राख्न नसकिने बताएको थियो ।
ऊर्जा मन्त्रालयको छानबिन समितिले ठेक्का सम्झौता नगर्ने सिजिजिसी र कानुनी प्रक्रिया पूरा नगरी कारबाही प्रक्रियाअगाडि बढाउने साञ्जेनको व्यवस्थापनलाई कारबाही गर्न सिफारिस गरेको छ ।
‘अन्तिम समयमा आएर ठेक्का सम्झौता नगर्ने र कानुनी प्रक्रिया नपुर्‍याई कारबाही अगाडि बढाउने क्रमशः ठेकेदार कम्पनी र साञ्जेन व्यवस्थापनलाई भविष्यमा यस्तो गल्ती नदोहोर्‍याउन सचेत गराउन सिफारिस गरिएको छ,’ स्रोतले भन्यो । सिजिजिसी चमेलिया र माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सिभिल संरचनाको पनि ठेकेदार कम्पनी हो ।
साञ्जेन कम्पनीका अधिकारीले भने ऊर्जा मन्त्रालयले कार्यक्षेत्रभन्दा बाहिर गई ठेकेदार कम्पनीको प्रभावमा छानबिन समिति गठन गरेको बताउँदै आएका छन् । संयोजक कुँवरले भने प्रतिवेदन कार्यान्वयन गर्ने या नगर्ने जिम्मा ऊर्जा मन्त्रालयको रहेको बताए ।
साञ्जेनमा चिलिमे हाइड्रोपावर कम्पनीको ३८ प्रतिशत, प्राधिकरणको १० प्रतिशत र रसुवाका गाविस तथा जिविसको ३ प्रतिशत संस्थापक सेयर र बाँकी ४९ प्रतिशत साधारणको सेयर रहने व्यवस्था छ ।
@सचेन गौतम/नयाँ पत्रिका

No comments:

Post a Comment