Sunday, April 21, 2013

राहुघाट लाई निरन्तरता दिन उपसमितिको सुझाव

राहुघाट विद्युत् आयोजनाको आवासगृहको काम अन्तिम चरणमा
राहुघाट विद्युत् आयोजनाको आवासगृहको काम अन्तिम चरणमा
म्याग्दी, ७ वैशाख- सिभिल ठेकेदार कम्पनी आईभीआरसीएल इन्डिया लिमिटेडले मूल्य समायोजनको माग राखेपछि अलमलमा परेको राहुघाट विद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले निरन्तरता दिने भएको छ ।
म्याग्दीमा निर्माणाधीन ३२ मेगावाट क्षमताको आयोजनालाई निरन्तरता दिने या नदिने विषयमा अध्ययन गर्न प्राधिकरणले गत पुसको दोस्रो साता कार्यकारी निर्देशक रामेश्वर यादवको नेतृत्वमा गठन गरेको एक उपसमितिले राष्ट्रकै गौरवको आयोजना भएकाले निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको राहुघाट जलविद्युत् आयोजनाका सहायक प्रशासकीय अधिकृत कासिनाथ दाहालले बताए ।
“आयोजना रहने वा नरहने भन्ने भ्रम मेटिएको छ,” दाहालले भने, “मूल्य समायोजनको माग गरिरहेको ठेकेदार कम्पनीसँगको वार्तासमेत सकारात्मक छ ।” उनले प्राधिकरण पुरानो कम्पनीलाई नै निरन्तरता दिने पक्षमा रहेको बताए  । आवासगृहको काम अन्तिम चरणमा पुगेको, प्रवेश मार्गको काम भइरहेको, सिभिल निर्माणका लागि परामर्शदाता  छनौट भई काम सुरु गरिरहेको लगायत अन्य महŒवपूर्ण काम भएकाले पनि निरन्तरता दिनुपर्ने तर्क उपसमितिको छ । भारत सरकारले एक्जिम बैंकमार्फत प्राधिकरणले ७ अर्ब रुपैयाँ सहुलियतमा ऋण उपलब्ध गराएपछि २०६६ सालदेखि निर्माणको काम अघि बढाइएको थियो ।
आयोजनाको मुख्य संरचना टनेल, पावर हाउस, सडक, बाँध निर्माणको जिम्मा पाएको भारतीय कम्पनीले विभिन्न माग राख्दै निर्माणकार्य अवरोध गरेपछि आयोजना रोक्ने भन्ने विषयमा समेत बहस चलेको थियो । भारत सरकारको सहयोगमा निर्माण हुन लागेको आयोजना रोक्दा दुई देशबीचको सम्बन्धमा समेत नकारात्मक असर पर्ने भएकाले पनि यसलाई अगाडि बढाउनुपर्नेमा उपसमितिको जोड रहेको छ ।
एक्जिम बैंकमार्फत नेपालमा सडकलगायत अन्य विकास–निर्माणको क्षेत्रमा समेत लगानी भएकाले राहुघाटको असर त्यता पर्नेतर्फ समेत सचेत हुनुपर्ने तथा सरकारी आयोजना फिर्ता हुदाँ निजी क्षेत्रको लगानीमा समेत असर पर्ने, हालसम्मको लगानी खेर जाने जस्ता विभिन्न कारण पनि सो आयोजना अगाडि बढाउनुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रस्तुति: कारोबार

No comments:

Post a Comment