Sunday, April 7, 2013

लघु जलविद्युत् र ग्रामीण विकास

बसन्तराज लामिछान
विकट क्षेत्रमा विद्युतीकरण गर्नको लागि लघु जलविद्युत्को महत्त्वपूर्ण भूमिका रहेको छ । ग्रामीण अर्थतन्त्रले काँचुली फेर्नको लागि लघु जलविद्युत् एउटा साधन बन्न सक्ने कुरामा दुई मत छैन । ग्रामीण विकास एक बहुआयामिक र गतिशील प्रक्रिया हो । जसको मुख्य उद्देश्य विकासको प्रतिफललाई ग्रामीण क्षेत्रसम्म पुर्‍याएर ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तरलाई उकास्दै गरिबी, बेरोजगारी र असमानताको अन्त्य गर्नु हो ।
ऊर्जा क्षेत्रको विकासबिना ग्रामीण विकास प्राय: असम्भव भएको अवस्थामा वैकल्पिक एवम् नवीकरणीय ऊर्जाको रूपमा रहेको लघु जलविद्युत् नेपालको लागि वरदान सावित भइसकेको छ । यस सन्दर्भमा ठूला जलविद्युत्को विकासमा विभिन्न कठिनाइ तथा समस्याहरू उत्पन्न भएका छन् । नेपालको धेरैजसो ग्रामीण क्षेत्रमा राष्ट्रिय प्रसारणलाइन पुग्न सकेको छैन । हिउँदको समयमा दैनिक १८ घन्टासम्म लोडसेडिङको प्रक्षेपण गरेको नेपाल विद्युत् प्राधिकरणले छरिएको वस्ती रहेको ग्रामीण क्षेत्रमा विद्युत् विस्तार गर्ने सम्भावना कम छ । स्थानीय स्तरमा खेर गइरहेको जलस्रोतको उपयोग गरी लघु जलविद्युत्को विकास गर्ने प्रचुर सम्भावना रहेको छ । नेपालमा साना, ठूला, गरी ६ हजारभन्दा बढी नदीनालाबाट सेतो सुनरूपीे जलशक्तिको प्रयोग गरी लघु जलविद्युत्को माध्यमबाट ग्रामीण विकासमा एक फड्को मार्न सकिन्छ । खेर गईरहेको जलस्रोतको उपयोग गर्दै स्वदेशमा उपलब्ध जनशक्तिले स्वदेशमा नै उत्पादन गरिएका उपकरणहरु (जेनेरेटरबाहेक) को प्रयोग गरी छोटो समयमा नै आयोजनाको जडान कार्य सम्पन्न गर्न सकिने लघु जलविद्युत् आयोजनाको निर्माणबाट ग्रामीण क्षेत्रमा विद्युतीकरण गरी त्यस क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक तथा सामाजिक रूपान्तरणबाट विशेष योगदान पुग्दछ ।
सरल, सहज र सस्तो मूल्यमा स्थानीय स्रोत तथा साधन परिचालन गरी स–साना खोलानालाहरूबाट विद्युत् उत्पादन गरी गरिब जनताले उज्यालो, मनमा शान्ति र मुहारमा क्रान्ति ल्याई गरिबी केही हदसम्म भए पनि निवारण गर्न सकिने यो प्रविधि नेपालजस्ता ग्रामीण परिवेश भएको मुलुकमा अपरिहार्य प्रविधि हो ।
लघु जलविद्युत्का फाइदा
  • वातावरण संरक्षण
  • स्वस्थ जीवन
  • स्थानीय स्तरमा उद्योगधन्दा सञ्चालन
  • नेतृत्व विकास
  • सामाजिक एकता
  • लैगिंक समानता
  • ग्रामीण विकास
  • रोजगारी वृद्धि
  • जैविक विविधताको संरक्षण
  • स्वदेशी व्यवसायलाई प्रोत्साहन
  • गरिबी निवारणमा सहयोग
यसबाट यो कुरा प्रस्ट हुन्छ भने लघु जलविद्युत्को विकासबाट बेफाइदा छैन र सबै क्षेत्रमा फाइदा नै छ । यसै तथ्यलाई मध्यनजर राख्दै नेपाल सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत लघु जलविद्युत्को विकासमा अनुदानको व्यवस्था गरेको छ । लघु जलविद्युत्को विकास र विस्तारमा सरकारी तथा निजी क्षेत्रको संलग्नता र सहभागिता रहेको छ । लघु जलविद्युत् सरकारी र निजी क्षेत्रको साझेदारीको रूपमा विकास र विस्तार भइरहेको छ । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, दातृ निकाय र निजी क्षेत्र लघु जलविद्युत्को विकास एवम् विस्तारमा संलग्न भएका छन् ।
ग्रामीण विकासमा लघु जलविद्युत्को भूमिका
लघु जलविद्युत आयोजनाको निर्माणले ग्रामीण क्षेत्रमा स्वस्थ ऊर्जा उत्पादन गर्न सकिन्छ । ग्रामीण क्षेत्रका जनताले टुकी तथा दियालो बाल्नुपर्ने अवस्थाबाट मुक्ति प्राप्त गर्न सक्छन् । बिजुली बत्तीको प्रयोगले विद्यार्थीको पढाइमा सहयोग पुग्नुको साथै सीप र क्षमतामा विकास हुन्छ । विद्युत्को प्रयोगबाट परिप्रयोग/उद्योगधन्दाको विकास गरी स्थानीय स्तरमा रोजगारीको सिर्जना, स्थानीय स्रोतसाधनको उच्चतम प्रयोग गरी आयस्रोतमा वृद्धि हुन जान्छ, जसले पछि गएर ग्रामीण समुदायको जीवनस्तरमा वृद्धि गरी विकासमा सहयोग पुर्‍याउँदछ ।
लघु जलविद्युत्को विकास
  • स्वस्थ ऊर्जा प्राप्ति
  • उद्योगधन्दाको विकास
  • स्थानीय स्रोतसाधनको उच्चतम प्रयोग
  • स्वास्थ्य र शिक्षामा सुधार
  •  रोजगारीको सिर्जना
  • परनिर्भरतामा कमी
  • आयस्रोतमा वृद्धि
  • ग्रामीण जीवनस्तरमा सुधार
  • ग्रामीण विकास
नेपालजस्ता ग्रामीण परिवेश भएको मुलुकको विकासमा लघु जलविद्युत् एक साधन बन्न सक्छ । तसर्थ जनताको जीवनस्तरमा वृद्धि गरी सामाजिक न्याय सद्भाव कायम राख्दै ग्रामीण गरिबी निवारण गर्दै दिगो ग्रामीण विकास गर्नको लागि लघु जलविद्युत्को विकास गर्नु आजको आवश्यकता हो । (लेखक डिएल इनर्जी कन्सर्न प्रा.लि. का प्रबन्ध निर्देशक हुन् ।)

No comments:

Post a Comment