Monday, April 22, 2013

तनहुँ जलविद्युत आयोजनाको लागत ४२ अर्ब

 तनहुँ जलविद्युत आयोजनाका लागि सहयोग सम्बन्धी सम्झौतापत्रमा सरकार र एसियाली विकास बैंकबीच हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा सो आयोजनाका लागि एसियाली विकास बैंकले नेपाल सरकारलाई १३ अर्ब रुपैयां (१५० मिलियन अमेरिकी डलर) उपलब्ध गराउने सम्झौतामा अर्थ सचिव शान्तराज सुवेदी र बैंकका तर्फबाट देशीय निर्देशक केनिची योकोहामाले हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर कार्यक्रममा अर्थसचिव सुवेदीले मुलुकमा बढ्दो उर्जा सङकटलाई हल गर्नका लागि महत्वपूर्ण मानिएको सो आयोजनालाई समयमै सम्पन्न गर्न सरकारले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा योकोहामाले सो आयोजनालाई समयमै सम्पन्न गर्नुपर्ने र त्यसकालागि बैंकका तर्फबाट अझै सक्दो सहयोग गरिने बताए ।
कुल १ सय ४० मेगावाट क्षमताको सो आयोजनालाई जलाशययुक्त आयोजनाको रुपमा निर्माण गरिने भएको छ । आगामी वर्षबाट सुरु भई छ वर्ष भित्र सम्पन्न गरिने लक्ष्य राखिएको सो आयोजनाको प्रमुख लगानीकर्ता जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) रहेको छ भने एसियाली विकास बैंक, अवुधावी फन्ड, यूरोपियन इन्भेस्टमेन्ट बैंक र नेपाल सरकारको लगानी रहने छ ।
सो आयोजनाको कूल लागत करिब रु ४२ अर्ब ( ५ सय ५ मिलियन डलर)  रहेको छ ।

स्रोत: कारोबार संवाददाता–काठमाडौं, ९ वैशाख ।

No comments:

Post a Comment