Sunday, April 7, 2013

सामाजिक आर्थिक परिवर्तनमा जलविद्युत

बि. आर. बेल्बासे

निजी क्षेत्रले विद्युत् उत्पादनमा आफ्नो योगदान बढाउँदै गएका छन् । गत आर्थिक वर्षमा निजी क्षेत्रबाट ५ दशमलव ४४ मेगावाट विद्युत् उत्पादन भएको थियो । चालु आर्थिक वर्षभित्र त्यो बढेर ५० दशमलव ३ मेगावाट विद्युत् उत्पादन गर्नेे भएको छ । सरकारले निजी क्षेत्रलाई सहुलियतपूर्ण ऋण, विद्युत् खरिद सम्झौता (पीपीए) को दरमा वृद्धि, निर्माण सामग्रीमा भ्याद छुट, स्थानीय बासिन्दाका असीमित मागलाई सम्वोधन गरिदिने हो भने निजी क्षेत्रको लगानी बढ्न सक्ने प्रवद्र्धकहरूको भनाइ छ । ‘आयोजना निर्माण  सहयोगी भूमिका रहे निजी क्षेत्रले विद्युत् उत्पादन बढाउन सक्छन्’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष डा. सुवर्णदास श्रेष्ठले भन्नुभयो ।
गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा निजी क्षेत्रले करिब ९ गुणा बढी विद्युत् उत्पादन गर्ने संकेत देखिएको छ ।  सरकारले निर्माणाधीन आयोजनालाई सहुलियत ऋण, पीपीएमा २० प्रतिशतका दरले वृद्धि गर्ने भएको छ । सरकारले निजी क्षेत्रप्रति अपनाएको सकारात्मक कदमले पनि आयोजना निर्माणमा निजी क्षेत्रको चासो बढेको हो ।
सरकारले निजी क्षेत्रका २३ जलविद्युत् आयोजनालाई  सहुलियत दरमा कर्जा दिने निर्णय गरिसकेको छ । ऊर्जा संकट समाधानका लागि सरकारले यस्तो निर्णय गरेको बताइएको छ । निजी क्षेत्रका २३ आयोजनाबाट २०७१ सालसम्म १ सय ४१  दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुने छ । सरकारले जलविद्युत् आयोजना निर्माणमा ध्यान पुर्‍याउने हो भने लोडसेडिङलाई कम गर्न सकिने ऊर्जा विद्हरुको भनाइ छ ।
करिब दुई दशकको अवधिमा निजी क्षेत्रले १ सय ८१ मेगावाट विद्युत् उत्पादन गरिसकेका छन् । तर एक शताब्दीभन्दा बढी समय पार गरेको सरकारी प्रयास भने निजी क्षेत्रको तुलनामा नगन्य प्रगति गरेको छ । सरकारले १९६८ सालदेखि शुरू गरेको कामबाट जम्मा ४ सय ७७ मेगावाट मात्र विद्युत् उत्पादन भएको छ ।

लागतमा कमी
प्राधिकरणले निर्माण गरेका आयोजनाभन्दा निजी क्षेत्रबाट निर्माण भएका आयोजनाको लागत मूल्य आधा कम छ ।  प्राधिकरणले निर्माण गरेका आयोजनामा अपनत्वको अभावका कारण निर्धारित समयमा आयोजना निर्माण हुन नसक्दा लागत बढने गरेको प्रवद्र्धकहरूको दाबी छ । यसबाहेक आयोजनास्थल भ्रमण गर्दा दैनिक लिइने भत्ता, यातायात साधनको अत्यधिक दुरूपयोगलगायतका कारणले प्राधिकरणले निर्माण गर्ने आयोजनाको लागत निजीको भन्दा बढी हुने गरेको छ । आयोजना निर्धारित समयमा निर्माण हुन नसक्नु, पादर्शिताको अभाव र प्रवद्र्धकहरूको हाइफाइले नै लागत बढेको  त्यस क्षेत्रमा सक्रिय व्यक्तिहरूको भनाइ छ ।  
निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना शुरूको लागत अनुमानभन्दा करिब दोब्बर हुने भएको छ । ‘निर्धारित समयभन्दा बढी समय लागेका कारण आयोजनाको निर्माण लागत बढेको हो’ ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइरालाले बताउनुभयो । हालसम्म १२–१३ अर्ब खर्च भइसकेको जानकारी उहाँले दिनुभयो ।  चमेलिया आयोजना शुरूमा ८ अर्ब ४९ करोड लाग्ने अनुमान गरिएको थियो । तर निर्माण सम्पन्न हुने अवधिसम्ममा आयोजनाको कूल लागत १४ अर्ब पुग्ने अनुमान गरिएको छ । आयोजनाको लागत प्रतिमेगावाट ४० करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।
सामान्यतया १ मेगावाट विद्युत् उत्पादन गर्नका लागि १५–१६ करोड लाग्ने गर्दछ । निजी क्षेत्रबाट निर्माण भएका धेरैजसो  आयोजनाहरू सोही लागतमा निर्माण भएका छन् । प्राधिकरणलाई आयोजना निर्माण गर्न सरकारले सहुलिय दरमा ऋण उपलव्ध गराउँदै आएको छ । विभिन्न आयोजनाका लागि विश्व बैंक, एसियाली विकास बैंकलगायत दाताबाट १ दशमलव ७५ प्रतिशत ऋण र अनुदान सहयोग प्राप्त हुने रकम प्राधिकरणलाई ८ प्रतिशत ब्याजदरमा दिने गरेको छ । सहुलियत दरमा उपलब्ध हुने ब्याजका कारण आयोजना निर्माणको लागत पनि कमी हुनुपर्ने हो । तर प्राधिकरणले निर्माण गरेका आयोजना त्यसको ठिक विपरीत भएको छ ।
सामाजिक उत्तरदायित्वमा आयोजना
सामाजिक उत्तरदायित्वमा आयोजना सक्रिय रहँदै आएका छन् । जलविद्युत् आयोजना निर्माणस्थलका बासिन्दाले कुनै न कुनै किसिमका विकास निर्माणको कामबाट लाभ लिइसकेका छन् र लिने क्रममा छन् ।  आयोजना सामाजिक क्षेत्रमा गरेको लगानीले त्यसका बासिन्दाको जीवनस्तरमा सुधार मात्र ल्याएको छैन, स्थानीय अर्थतन्त्रमा पनि उल्लेख्य प्रभाव पारेको छ । आयोजना निर्माणस्थलका बासिन्दाले  शिक्षा, स्वास्थ्य, सडक, सिँचाईलगायतका सुविधा उपभोग गरिरहेका छन् । कूल लागतको ५ प्रतिशत रकम आयोजनाका प्रवद्र्धकले सामाजिक क्षेत्रमा लागानी गर्दै आएको ऊर्जा मन्त्रालयका प्रवक्ता श्रीरञ्जन लाकौलले बताउनुभयो ।
 हिमाल पावर लिमिटेडले निर्माण गरेको ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाले ८५ करोड रुपैयाँ सामाजिक काममा खर्च गरिसकेको छ । १७ वर्ष अघि अर्थात सन् १९९६ मा निर्माण थालिएको यस आयोजनाले सामाजिक सेवाका लागि ‘बास्केट फन्ड’ को स्थापना गरेको छ । कम्पनीले हरेक वर्ष सो फन्डमा रकम जम्मा गर्दै सामाजिक सेवामा खर्च गर्दै आएको छ । ‘नाफा मात्र होइन समाजप्रतिको उत्तरदायित्व पनि बहन गर्नुपर्छ भनेर क्रियाशिल भएका छौं’ आयोजनाका सिएसआर म्यानेजर श्यामप्रसाद भट्टले भन्नुभयो ।
शैक्षिक जनशक्तिको आधार तयार गर्ने उद्देश्यले कम्पनीले आयोजना क्षेत्रमा खिम्ती प्रोजेक्ट सेकेन्डरी स्कूल स्थापना गरेको छ । आयोजनाले सो विद्यालयलाई वार्षिक ५० लाख रुपैयाँभन्दा बढी अनुदान दिँदै आएको छ । केही सामुदायिक विद्यालयहरूलाई शिक्षक सहयोग गर्दै आएको छ । यसमा पनि वार्षिक करिब रु. ३ लाख खर्च हुने गरेको छ । दोलखा तथा रामेछाप जिल्लाबाट एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई राजधानीका उच्चमाविमा अध्ययनका लागि  छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ ।
आयोजनाले शिक्षा, स्वास्थ्य, खानेपानी, ग्रामीण विद्युतीकरणलगायतमा खर्च गर्दै आएको छ । आयोजनाले ‘किर्ने स्वास्थ्य क्लिनिक’ स्थापना गरेको छ ।  यस अस्पतालमा एम्वुलेन्स सेवाका साथै अन्य स्वास्थ्य सेवाहरु उपलव्ध छन् । साथै हेडवक्र्स साइट पलातेमा पनि स्वास्थ्य केन्द्र सञ्चालित छ । यी क्लिनिकबाट वार्षिक १६ हजार स्थानीयबासीले स्वास्थ्य लाभ लिइरहेका छन् ।
आयोजनाले ग्रामीण विद्युतीकरणको कार्यक्रमलाई जोड दिएको छ । स्थानीय समुदाय विजुलीको उज्यालोबाट बञ्चित नहोउन भन्ने उद्देश्यले आयोजनाले खिम्ती ग्रामीण विद्युत् सहकारी संस्था स्थापना गरेको पनि उनले बताए । यस सहकारीमार्फत २ वटा साना जलविद्युत् आयोजना सञ्चालन गरिएको छ । ६ सय ३० किलोवाटको झाँक्रे खोला र ४ सय किलोवाटको हलुवा खोला आयोजनाबाट  ८ हजारभन्दा बढी घरधुरीमा विद्युतीकरण गरिसकिएको छ । सहकारीले आयोजनाको मर्मत सम्भार र विद्युत् महशुल उठाउने समेतको काम गरिरहेको भट्टले बताउनुभयो । सहकारीका लागि कम्पनीले विभिन्न प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको  पनि भट्टले जानकारी दिनुभयो ।
सामाजिक कार्यमा अहिले अधिकांश जलविद्युत् आयोजनाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । स्थानीय बासिन्दासँग सजिलै घुलमिल हुन र काममा सहजता ल्याउन  आयोजना निर्माता सामाजिक कार्यमा विभिन्न माध्यमबाट सहभागी  भइरहेका छन् । कमाएको केही प्रतिशत रकम छुट्टाएर सामाजिक कार्यमा लगाउन आयोजनाहरू बीच प्रतिस्पर्धा शुरू भएको छ । यसबाट आयोजनालाई समाजले हर्ने दृष्टिकोणमा परिवर्तन आएको छ ।
यसै गरी अर्को जलविद्युत् आयोजना चिलिमे जलविद्युत् आयोजनाले शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक, खानेपानीलगायतमा प्रत्येक वर्ष १–२ करोड खर्च गर्दै आइरहेको छ । आयोजनाले एम्बुलेन्स सेवा, स्थानीय स्वस्थ्य चौकीलाई सुविधासम्पन्न गर्ने काम गर्दै आएको छ । आयोजना प्रभावित क्षेत्रका स्कुलको भौतिक संरचना तयार पार्ने काम पनि गरेको छ । आयोजनाले स्यामेहान्थेल स्कुलका लागि ४ रोपनीे जग्गा खरिद गरिदिनुका साथै भवन निर्माण पनि गरिदिएको थियो ।
आयोजनाले स्याप्रेदेखि माथिका गाउँमा सडक मर्मत सम्भार गर्दै आएको छ । प्रत्येक वर्ष १५–२० किलोमिटरसम्म सडक मर्मत गर्दै आएको आयोजनाले बताएको छ । आयोजनाले ग्रामीण क्षेत्रमा विद्युतीकरण, खानेपानी, विभिन्न क्लव र संघसंगठनले गर्ने सांस्कृतिक कार्यक्रम, खेलकुदलगायतका कार्यक्रमलाई पनि सहयोग गर्दै आएको छ ।
यस्तै निर्माण सम्पन्न गर्ने क्रममा रहेको ८ दशमलव ४ मेगावाट क्षमताको आँखुखोला जलविद्युत् आयोजनाले केही रकम सामाजिक काममा लगाइ सकेको छ । आयोजनाले ५५ जना स्थानीय बासिन्दालाई रोजगारी दिएको आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका कार्यकारी निर्देशक विश्वनाथ कँडेल बताउनुहुन्छ । ‘स्थानीय जनशक्तिको उपयोग गरेका छौं’ कँडेलले भन्नुभयो ‘यसले त्यस क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।’ आयोजनाकै खर्चमा १४ किलोमिटर लामो प्रसारणलाइन निर्माण गर्नुका साथै धादिङबेंशीमा १ करोड ५५ लाख रुपैयाँमा सबस्टेसन र स्थानीय बासिन्दाका लागि ४२ किलोमिटर बाटो निर्माण गरिदिएको पनि उहाँले बताउनुभयो ।
धादिङ जिल्लामा रहेको यस आयोजनामा स्थानीय बासिन्दालाई बढीभन्दा बढी  सहभागी बनाएको कम्पनीको दाबी छ । यस कम्पनीमा १ सय ५५ संस्थापक शेयर सदस्यमध्ये ४६ जना आयोजना निर्माणस्थल जिल्लाका शेयर सदस्य छन् । स्थानीय बासिन्दालाई थप ६ करोड रुपैयाँ बराबरको शेयर छुट्टाइएको छ । विकास निर्माण अभियानमा क्रियाशील रहने आयोजनाका प्रवद्र्धकले बताएका छन् ।
यसै गरी बुटवल पावर कम्पनी लिमिटेडको ९ दशमलव ४ मेगावाट क्षमताको स्याङ्जाको आँधीखोला जलविद्युत् आयोजनाले  पनि ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको छ । आयोजनाले स्याङ्जाकै भट्टराई फाँटमा पम्पिङ गरी सिँचाई सुविधा पनि पुर्‍याएको आँधीखोला जलविद्युत् आयोजनाका आयोजना प्रमुख विष्णुबहादुर सिंहले बताउनुभयो । इलाम जिल्लामा निर्माणाधीन अपर माई ‘सी’ र तल्लो माई जलविद्युत् आयोजनाले ऋणमा डुबेका स्थानीयबासिन्दालाई ऋण मुक्त गर्ने काम गरेका छन् । ‘स्थानीय बासिन्दाले लघु जलविद्युत् निर्माण गर्दा बैंकबाट लिएको ऋण तिरिदिएका छौ’ माई भ्याली हाइड्रोपावर प्रालिका कार्यबाहक अध्यक्ष प्रदीपकुमार श्रेष्ठले भन्नुभयो ‘आयोजनाले ऋणमा डुबेका माई मजुवाका स्थानीयलाई ऋण मुक्त गर्ने काम गरेको छ ।’ आयोजनाले स्थानीय बासिन्दलाई ऋण मुक्त गरिदिएपछि उनीहरूको खुशीले सीमा नाघेको छ । ‘भगवान आए जस्तै भएको छ’ एक स्थानीय बासिन्दले भने । जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वको काम मात्र पूरा गरेका छैनन् स्थानीय व्यक्तिको सुखदु:खको साथी बनेका छन् ।

No comments:

Post a Comment