Thursday, April 18, 2013

वर्षायाममा ४२ मेगावाट बिजुली खेर जाने

wet_Energy
काठमाडौं, ४ वैशाख- बर्दघाट–हेटौंडा २२० केभी क्षमताको प्रसारण–लाइन समयमा नबनेर पूर्वमा विद्युत् आपूर्ति गर्न नसकिएपछि आउँदो वर्षात्को चार महिनामा ४२ मेगावाट विद्युत् खेर जाने भएको छ । गत वर्षै सम्पन्न गर्न लक्ष्य राखिएको यो प्रसारण–लाइन नबनेपछि आउँदो असार, साउन, भदौ र असोजसम्म बिजुली खेर जाने अवस्था आएको हो ।
यो वर्ष पश्चिम क्षेत्रमा थप तीनवटा विद्युत् आयोजना निर्माण भएर २३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप भएको छ । गत वर्ष पनि २५ मेगावाट बिजुली खेर गएको थियो । नेपाल विद्युत् प्राधिकरणले करोडौं रुपैयाँ आम्दानी गुमाउनेछ ।
भरतपुर–हेटौंडा १३२ केभी प्रसारण–लाइनबाट क्षमता कम भएकाले थप बिजुली पूर्वमा प्रवाह गर्न सकिँदैन । नेपाल विद्युत् प्राधिकरणले पूर्वमा बिजुली आपूर्ति बढाउन विश्व बैंकको सहयोगमा यो लाइन निर्माण गर्न लागेको हो ।
प्रसारण–लाइनको लम्बाई १ सय ४० किलोमिटर छ । रूख काट्न वन मन्त्रालयले रोकेपछि प्रसारण–लाइनको काम पनि अवरुद्ध हुँदै आएको थियो । मन्त्रालयले हालैमात्र रूख काट्न स्वीकृति दिएको छ ।
गत वर्ष कालीगण्डकी (१४४ मेगावाट), मध्यमस्र्याङ्दी (७० मेगावाट) र तल्लो मस्र्याङ्दी (६९ मेगावाट) आयोजनाबाट उत्पादन भएको बिजुली पनि यही प्रसारण–लाइन नबन्दा खेर गएको थियो । यो वर्ष तल्लोमोदी १ (१० मेगावाट), विजयपुर (४.५ मेगावाट) र आँखुखोला (८.४ मेगावाट) गरी सो क्षेत्रमा २३ मेगावाट विद्युत् थप भएकाले खेर जाने भएको हो ।
वर्षात्मा नदीमा जलप्रवाह बढेपछि सबै विद्युत्गृहबाट पूर्ण क्षमतामा उत्पादन हुन्छ । ६ वटा आयोजनाबाट वर्षात्मा ३ सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।
बर्दघाट–हेटौंडा २२० केभी प्रसारण–लाइन नबनेसम्म वर्षामा बिजुली खेर गइरहने प्राधिकरणका एक अधिकारी बताउँछन् । “गत वर्ष पनि खेर गयो यो वर्ष पनि जान्छ, प्रसारण–लाइन नबनेसम्म यो जारी रहन्छ,” उनले भने । प्राधिकरणका अनुसार ४२ मेगावाट क्षमताको विद्युत् आयोजना बनाउन साढे ६ अर्ब रुपैयाँ लगानी गर्नुपर्छ ।
गत वर्ष वर्षात्मा पनि दैनिक ६ घण्टा लोडसेडिङ भएको थियो । आउँदो वर्षात्मा पनि यही हारहारीमा लोडसेडिङ हुने प्रक्षेपण विद्युत् प्राधिरकणको छ ।
प्राधिकरणले निर्माण गरेको हालसम्मको ठूलो १३२ केभी प्रसारण–लाइनले बढीमा ८० देखि ९० मेगावाटसम्म बिजुली आपूर्ति गर्न सक्छ । कालीगण्डकीबाट उत्पादन हुने बिजुली १३२ केभी प्रसारण–लाइनबाट बुटवल र अर्को १३२ केभीको प्रसारण–लाइनबाट कास्कीको लेखनाथस्थित प्रसारण–लाइनमा जोडिने गरेको छ । यस्तै  मध्यमस्र्याङ्दी र मस्याङ्दीबाट उत्पादन हुने बिजुली भरतपुर–हेटौंडा १३२ केभी प्रसारण–लाइनमा जोडिएको छ ।
त्यस क्षेत्रबाट राजधानीमा ७५ देखि ८० मेगावाट, भरतपुरबाट हेटौंडासम्म बढीमा ८० मेगावाटको हारहारीमा बिजुली आपूर्ति हुने गरेको छ । प्राधिकरणका अनुसार बुटवलमा २० मेगावाट, पोखरामा ३० मेगावाट र भरतपुरमा पनि २५ मेगावाट विद्युत् खपत हुँदै आएको छ ।
यस्तै, राजधानीमा बिजुली आपूर्ति बढाउन प्राधिकरणले मस्र्याङ्दी–काठमाडौं २२० केभी प्रसारण–लाइनको रुट सर्भे गरिसकेको छ । यो प्रसारण–लाइन निर्माण गर्न वित्तीय स्रोतको व्यवस्थापन हुन नसकेपछि रोकिएको छ ।
बाबुराम खड्का

No comments:

Post a Comment